काठमाडौं–तराई द्रुतमार्गमा महत्वपूर्ण उपलब्धि, सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेकथ्रु - Chaitanya News
  • 2026-11-18
  • 11:23:59
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौं–तराई द्रुतमार्गमा महत्वपूर्ण उपलब्धि, सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेकथ्रु

    काठमाडौं–तराई द्रुतमार्गमा महत्वपूर्ण उपलब्धि, सबैभन्दा लामो महादेवटार सुरुङको ब्रेकथ्रु

    काठमाडौं– राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। आयोजनाको समग्र भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको अवस्थामा सबैभन्दा लामो महादेवटार सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएको छ।

    नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको ३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गरेका हुन्। योसँगै आयोजनाअन्तर्गत सुरुङ निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ।

    नेपाली सेनाका अनुसार द्रुतमार्गमा सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु सम्पन्न भइसकेको छ। महादेवटार सुरुङको ब्रेकथ्रु आयोजनाको महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।

    सेनाले आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको जनाएको छ। उच्च प्रविधियुक्त पुलसहित सडकका अन्य संरचना निर्माणको काम पनि अपेक्षित गतिमा अघि बढिरहेको सेनाको भनाइ छ।

    यद्यपि आयोजना निर्माणमा केही चुनौती अझै कायम छन्। विशेषगरी ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान हुन नसक्दा करिब ६.५ किलोमिटर सडक खण्डको निर्माण प्रक्रिया प्रभावित बनेको छ। उक्त समस्या समाधानका लागि पहल भइरहेको र विवाद टुंगिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने सेनाले जनाएको छ।

    महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो।

    नेपाली सेनाले राष्ट्रिय गौरवको यस आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ। साथै आयोजना निर्माणमा सहयोग पुर्‍याउने नेपाल सरकार, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।