जुगेडामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने - Chaitanya News
  • 2026-11-18
  • 12:06:58
  • बुधबार,मंसिर ०३, २०८३
  • जुगेडामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने

    जुगेडामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने

    धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडा ‘ए’ गाउँस्थित दुर्गा भगवती मन्दिरको विकास तथा धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ।

    आयोजक समितिका अनुसार मङ्सिर १२ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन मङ्सिर १२ गते बिहान ११ बजे गरिनेछ।

    महायज्ञमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भागवत कथावाचक किशोर शरण सुवेदी महाराजबाट श्रीमद्भागवत कथा प्रवचन हुने कार्यक्रम रहेको छ। सप्ताहव्यापी महायज्ञमा ज्ञान, विज्ञान तथा अध्यात्मसम्बन्धी प्रवचन, बाल संस्कार कार्यक्रम, भजन–कीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

    त्यसैगरी, महायज्ञ अवधिभर प्रत्येक दिन बिहान योग विज्ञानसम्बन्धी कार्यक्रमसमेत आयोजना गरिनेछ।

    दुर्गा भगवती मन्दिरको भौतिक तथा धार्मिक विकास गर्नुका साथै स्थानीयस्तरमा सामाजिक एकता, आपसी सद्भाव र आध्यात्मिक जागरण अभिवृद्धि गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो।

    महायज्ञ सञ्चालनका लागि गठित मूल आयोजक समितिको संयोजकमा शंकरबहादुर सिंह, उपसंयोजकमा इन्द्रमाया तामाङ, महासचिवमा प्रतापसिंह बिष्ट, सचिवमा भक्तबहादुर खाती र कोषाध्यक्षमा शारदा थापा रहेका छन्।