काठमाडौं– नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना तथा चलनचल्तीमा अयोग्य नोट नष्ट गरेको छ। बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलन भएका झुत्रा, मैला तथा च्यातिएका नोट धुल्याएर केन्द्रीय बैंकले ब्रिकेट बनाएको हो।
राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म विभिन्न दरका नोट बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट जम्मा गरी सट्टाभर्नाका लागि ल्याइएका थिए। तीमध्ये पुनः चलनचल्तीमा पठाउन नमिल्ने नोट नष्ट गरिएको हो।
पुराना नोट नष्ट गरिए पनि बजारमा चलनचल्तीमा रहेको नोटको परिमाण भने बढेको छ। केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तमा विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए। उक्त रकम २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशतले बढेर ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
यसैबीच राष्ट्र बैंकले बैंकनोटलाई थप सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षण विशेषता तथा प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अद्यावधिक गर्दै आएको जनाएको छ। बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समेत समावेश गरिएको छ।
नयाँ नोट आपूर्तितर्फ गत आर्थिक वर्ष ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट करार सम्झौताअनुसार आपूर्ति भई केन्द्रीय बैंकको ढुकुटीमा राखिएका छन्। त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थान नोटमध्ये पहिलो र दोस्रो लटअन्तर्गत २३ करोड थान आपूर्ति भएका छन्।
त्यसैगरी १०० रुपैयाँ दरका ३० करोड थान नोटमध्ये २१ करोड थान र ५०० रुपैयाँ दरका २३ करोड थान नोटमध्ये पहिलो लटमा १२ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि पनि करार सम्झौता गरेको छ।
राष्ट्र बैंकसँग २०८३ असार मसान्तसम्म विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो।