काठमाडौँ– नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग पाँच प्रमुख क्षेत्रमा सहकार्यको प्रस्ताव अघि सारेको छ।
रास्वपाले सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिलाई प्राथमिकतामा राख्दै सहकार्यको प्रस्ताव गरेको हो।
चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा यी विषय उठाइएको थियो।
भेटका क्रममा नेपाली पक्षले सुरक्षित सीमापार सडक सञ्जाल, प्रभावकारी भन्सार प्रणाली, मौसम पूर्वानुमान तथा विपद् पूर्वसूचना प्रणाली विकासमा सहकार्य गर्न प्रस्ताव गरेको थियो। त्यस्तै, जलविद्युत्, हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख सहरमा थप हवाई उडान तथा कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिको विकासमा सहकार्य गर्न आग्रह गरिएको थियो।
रास्वपाले नेपालको जडीबुटी, चिया, फलफूल तथा हस्तकलाका उत्पादनलाई चिनियाँ बजारमा सहज पहुँच दिलाउन प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि प्रस्ताव गरेको छ।
प्रस्तावप्रति सकारात्मक धारणा राख्दै सिचुवानका सचिव वाङले नेपाल–चीनबीचको उच्च गुणस्तरीय बेल्ट एण्ड रोड सहकार्यलाई अगाडि बढाउन सिचुवानले योगदान गर्ने प्रतिबद्धता जनाएका थिए। उनले दुई देशबीच राजनीतिक तथा सरकारी तहको सम्बन्ध थप सुदृढ बनाउँदै आपसी समझदारी कार्यान्वयनमा जोड दिने बताए।
महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको पूर्वाधार र आर्थिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
यसैगरी, नेपाली प्रतिनिधिमण्डलले गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरो तथा भोटेकोशी विपद्का क्रममा चीनले गरेको सहयोगको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा दुई पक्षबीच थप सहकार्य आवश्यक रहेको औँल्याएको थियो।
भेटवार्तामा रास्वपाले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो। राजनीतिक स्थिरता र स्पष्ट कार्ययोजनामार्फत द्विपक्षीय सहकार्यलाई ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा पनि नेपाली पक्षले जोड दिएको थियो।
सहकार्यका प्रस्तावलाई समयबद्ध कार्ययोजनामा परिणत गर्न आग्रह गर्दै नेपाली प्रतिनिधिमण्डलले सिचुवानका सचिव वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको छ । भेटमा सिचुवानका अन्य प्रान्तीय नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको सहभागिता थियो।