काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले सत्यको बाटोमा हिँड्दै सुशासनको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्। दसैँको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हालैका घटनामा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति समवेदना व्यक्त गर्दै विस्थापित नागरिकहरूको पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको बताएका छन्। दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस पर्वले सबैलाई सत्यको बाटोमा हिँड्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। उनले सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा प्रत्येक व्यक्तिले आफूभित्रको महिषासुर र रावणलाई चिन्न तथा तिनमाथि विजय प्राप्त गर्न सकून् भन्ने कामना गरेका छन्। “मानव दुःखका प्रमुख कारणका रूपमा रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभकामना पनि व्यक्त गर्दछु,” उनले भनेका छन्। प्रधानमन्त्री शाहले पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्वका बेला गाउँका घरआँगन रित्तिँदै गएको तीतो यथार्थलाई पनि शुभकामना सन्देशमा स्मरण गरेका छन्। बाध्यताले हरेक दिन विदेशिनुपर्ने नेपालीको पीडा र चाडपर्वमा घर फर्कने चाहना हुँदाहुँदै पनि परदेशमै बस्न बाध्य लाखौँ नेपालीको अवस्था परिवर्तन गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको उनले बताएका छन्। “सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु,” प्रधानमन्त्री शाहले भनेका छन्। आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुनेमा सरकार सचेत रहेको उनको भनाइ छ। आर्थिक रूपमा नागरिक सम्पन्न हुँदै जाँदा चाडपर्वको रौनकसमेत बढ्ने उल्लेख गर्दै उनले देशलाई आर्थिक सम्पन्नताको बाटोमा अघि बढाउन र सुशासन कायम गर्न वर्तमान सरकार अहोरात्र खटिइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले दसैँको मूल सन्देश सत्यको विजयलाई आत्मसात् गर्दै सत्य र सुशासनको बाटोमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्। “दसैँको अन्तर्यमा रहेको सत्यको विजयलाई आत्मसात् गर्दै सत्यको बाटोमा र सुशासनको बाटोमा हिँड्न माता दुर्गाभवानीको सत्प्रेरणा र कृपा हामी सबैमा सदैव परिरहोस् भन्ने शुभेच्छासहित सबै जनामा बडादसैँको सुअवसरमा आरोग्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु,” उनको सन्देशमा भनिएको छ। उनले सबै नेपालीलाई सभ्य र भव्य रूपमा दसैँ मनाउनसमेत आग्रह गरेका छन्।


