काठमाडौँ– बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ स्वरूप कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने वैदिक सनातन परम्परा छ।
धार्मिक मान्यताअनुसार कालरात्रि देवीले काललाई समेत नष्ट गर्ने शक्ति राख्छिन्। प्राणीमात्रलाई नष्ट गर्ने काललाई पनि भगवतीले नाश गर्ने विश्वासका आधारमा उनको सातौँ स्वरूपलाई कालरात्रि भनिएको हो। कृष्ण वर्ण र भयङ्कर आकृति भएकी कालरात्रिको स्वरूपबारे विभिन्न पुराणमा उल्लेख गरिएको छ।
नवरात्रको सुरुवातसँगै घटस्थापना गरिएको स्थानमा नौ दुर्गाका विभिन्न स्वरूपको क्रमशः पूजा आराधना गरिँदै आएको छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा गरिएको थियो। आज सातौँ दिन कालरात्रिको आराधना गरिँदै छ।
नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको श्रद्धापूर्वक पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीका नौ स्वरूपको विशेष पूजा गर्छन्।
नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई समग्रमा नवदुर्गा भनिन्छ।
दुर्गा पक्षका बेला देशभरका शक्तिपीठमा पूजाआराधना तथा दर्शन गर्न जाने भक्तजनको भीड लाग्ने गर्छ। नौ दिनसम्म देवीको पूजा आराधना गरी चढाइएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन्।