काठमाडौँ– नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवा गर्ने प्रक्रिया अघि बढ्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को तहगत निर्वाचन गराउने विषयमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) सकारात्मक भएपछि निलम्बन फुकुवाको बाटो खुल्ने अपेक्षा गरिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले थाइल्यान्डमा फिफा र एएफसीका उच्च पदाधिकारीसँग भएको छलफलपछि निलम्बन फुकुवा प्रक्रिया अघि बढ्ने जानकारी दिएका हुन्।
उनका अनुसार एन्फाको तहगत निर्वाचन कुन विधि र प्रक्रियाबाट सम्पन्न गर्ने भन्ने विषयमा फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको कार्ययोजना (रोडम्याप) पठाउनेछ।
मन्त्री पोखरेलले पत्रकार सम्मेलनमा भने, “अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ। तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ।”
यद्यपि, एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गराउने वा अन्तरिम समिति गठन गरेर अघि बढ्ने भन्ने विषयमा भने सहमति जुट्न बाँकी रहेको उनले स्पष्ट पारे। निर्वाचनको मोडालिटी, समय र प्रक्रियाबारे फिफाले प्रस्ताव गरेपछि थप निर्णय हुने उनको भनाइ छ।
फिफाले यसअघि नेपाली फुटबलमा सरकारको भूमिकालाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गरेको थियो। तर, थाइल्यान्डमा भएको छलफलका क्रममा मन्त्री पोखरेलले नेपालको संविधान, कानुन र राज्यको अधिकारअनुसार सरकारले गर्ने कामलाई हस्तक्षेपका रूपमा लिन नहुने धारणा राखेका थिए।
सरकारले आफ्नो कानुनी दायराभित्र रहेर मात्रै काम गर्ने र फुटबलको आन्तरिक व्यवस्थापनमा अनावश्यक हस्तक्षेप नगर्ने स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको मन्त्री पोखरेलले बताए।
यसैबीच, मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्। एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका उनले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए।
सरकारले नेपाली फुटबलको समस्या समाधान गर्न देखाएको चासोलाई अन्तर्राष्ट्रिय फुटबल निकायले सकारात्मक रूपमा लिएको पनि मन्त्री पोखरेलले बताएका छन्।
फिफाबाट निर्वाचनसम्बन्धी रोडम्याप प्राप्त भएपछि एन्फाको निर्वाचन प्रक्रिया र निलम्बन फुकुवासम्बन्धी आगामी कदम स्पष्ट हुने अपेक्षा गरिएको छ।