काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने घोप्टेभीर क्षेत्रमा पहिरोको जोखिम न्यूनीकरण गर्न आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो।
प्रशासनका अनुसार दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडकखण्डमा सवारी साधन सञ्चालन गर्न पाइने छैन।
सडकको माथिल्लो भागबाट निरन्तर ढुङ्गा तथा माटो खस्ने क्रम जारी रहेकाले उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको जनाइएको छ। सम्भावित दुर्घटना रोक्नुका साथै सडकलाई सुरक्षित बनाउन जोखिमयुक्त पहाडको माथिल्लो भाग काटेर व्यवस्थापन गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्न लागिएको हो।
निर्माण तथा जोखिम न्यूनीकरणको कामलाई सुरक्षित रूपमा अघि बढाउन प्रशासनले दैनिक पाँच घण्टा सडक बन्द गर्ने व्यवस्था मिलाएको जनाएको छ।
