वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व गन्तव्य बन्न सक्छ नेपाल : स्वामी कमलनयनाचार्य - Chaitanya News
  • 2026-11-21
  • 09:55:53
  • शनिबार,मंसिर ०६, २०८३
  • वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व गन्तव्य बन्न सक्छ नेपाल : स्वामी कमलनयनाचार्य

    वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व गन्तव्य बन्न सक्छ नेपाल : स्वामी कमलनयनाचार्य

    नारायणगढ (चितवन)– नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदालाई विश्वस्तरमा चिनाउँदै वैदिक ज्ञान, पूर्वीय दर्शन र धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्नेमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले जोड दिएका छन्।

    करिब चार दशकदेखि वैदिक सनातन धर्मको संरक्षण, धार्मिक सम्पदाको प्रवर्द्धन र तीर्थस्थल विकासमा सक्रिय उनले नेपालमा वैदिक ज्ञान तथा पूर्वीय दर्शनको अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय प्रचारका लागि विशिष्ट वैदिक विश्वविद्यालय आवश्यक रहेको बताएका हुन्।

    नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा मङ्सिर १ गतेदेखि सुरु भएको अष्टाचल धनधान्याञ्चल विराट महायज्ञका अवसरमा रासससँग कुरा गर्दै उनले आफ्नो आगामी प्रमुख संकल्प वैदिक विश्वविद्यालय स्थापना गर्नु रहेको बताए।

    उनका अनुसार नेपालमा विभिन्न विश्वविद्यालय र संस्कृत विश्वविद्यालय भए पनि वैदिक ज्ञान, पूर्वीय दर्शन तथा वाङ्मयको संरक्षण, अनुसन्धान र अन्तर्राष्ट्रिय अध्ययनलाई केन्द्रमा राख्ने विशिष्ट विश्वविद्यालयको आवश्यकता छ। महायज्ञमार्फत श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई स्तरोन्नति गरी वैदिक विश्वविद्यालय स्थापनाको आधार तयार गर्ने लक्ष्य राखिएको छ।

    स्वामी कमलनयनाचार्यले धार्मिक गतिविधिलाई पूजा, पाठ र यज्ञमा मात्र सीमित राख्न नहुने धारणा राख्दै त्यसलाई शिक्षा, संस्कृति, सामाजिक रूपान्तरण र राष्ट्रिय समृद्धिसँग जोड्नुपर्ने बताए। नेपालका ऐतिहासिक, पौराणिक तथा पवित्र तीर्थस्थलको प्रचारप्रसार गर्न सके देश विश्वकै महत्त्वपूर्ण आध्यात्मिक गन्तव्य बन्न सक्ने उनको विश्वास छ।

    उनले भने, “अहिले विश्व नै शान्ति, पूर्वीय दर्शन र चिन्तनप्रति आकर्षित भइरहेको छ। यस कार्यको प्रमुख केन्द्र अथवा उत्कृष्ट गन्तव्य नेपाल नै बन्न सक्दछ र बनाउनुपर्छ।”

    नेपाललाई धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानअन्तर्गत मुक्तिनाथ, पञ्चकोट, गजेन्द्रमोक्ष दिव्यधामलगायत विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण र विकासका काम अघि बढाइएको उनले जानकारी दिए।

    मुक्तिनाथ धामको धार्मिक महिमा विश्वभर फैलाउने उद्देश्यले सुरु गरिएको मुक्तिनाथ रथयात्रा यसै अभियानको महत्त्वपूर्ण हिस्सा हो। गत कात्तिक ८ गते मुक्तिनाथबाट सुरु भएको एकमहिने रथयात्रा देशका विभिन्न स्थानको परिक्रमा गर्दै कात्तिक ३० गते गजेन्द्रमोक्ष धाम पुगेको थियो।

    स्वामी कमलनयनाचार्यका अनुसार रथयात्राको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित नभई राष्ट्रिय एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक पहिचानलाई बलियो बनाउनु पनि हो। यसले नयाँ पुस्तालाई नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदासँग परिचित गराउने अपेक्षा गरिएको छ।

    उनले गण्डकी नदी र शालग्राम शिलालाई नेपालको विशिष्ट धार्मिक पहिचानका रूपमा व्याख्या गर्दै यसको संरक्षण र अन्तर्राष्ट्रिय प्रचारमा जोड दिएका छन्। विश्वका लाखौँ मन्दिर तथा करोडौँ हिन्दू परिवारमा पूजिने शालग्राम शिला गण्डकी नदीसँग जोडिएको धार्मिक सम्पदा भएकाले यसको महत्त्व विश्वसामु पुर्‍याउनु नेपालको जिम्मेवारी भएको उनको भनाइ छ।

    गण्डकीको जल, शालग्राम सभ्यता र मुक्तिनाथको धार्मिक महिमालाई जोडेर धार्मिक पर्यटनको नयाँ सम्भावना विस्तार गर्न सकिने उनले बताए। मुक्तिनाथ र त्रिवेणीधामजस्ता तीर्थस्थललाई एकीकृत रूपमा प्रचार गर्न सके भारतलगायत विभिन्न देशबाट पर्यटक तथा तीर्थयात्री आकर्षित गर्न सकिने उनको विश्वास छ।

    धार्मिक तथा सामाजिक अभियानलाई अघि बढाउन उनले अखण्ड ज्योति बाबा श्रीजी च्यारिटेबल ट्रष्ट र नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिमार्फत विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्। मुक्तिनाथ क्षेत्रमा साधुसन्त, तीर्थयात्री तथा बिरामीको सेवाका लागि पनि विभिन्न सेवा परियोजना सञ्चालनमा छन्।

    स्वामी कमलनयनाचार्यले सनातन धर्मको मूल भावना विश्वकल्याण, दया, करुणा र मैत्री भएको उल्लेख गर्दै सबै धर्म तथा सम्प्रदायका मानिसलाई मानवताको मूल्यमा जोडिन आग्रह गरेका छन्। ‘सर्वे भवन्तु सुखिनः, लोकाः समस्ताः सुखिनो भवन्तु’ अर्थात् सबै सुखी होऊन् र संसारका सबै प्राणी सुखी होऊन् भन्ने वैदिक मान्यतालाई उनले मानव कल्याणको आधारका रूपमा प्रस्तुत गरेका छन्।

    गजेन्द्रमोक्ष धामलाई सर्वधर्म तथा सम्प्रदायको साझा तीर्थस्थलका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ। धर्मका नाममा विभाजित हुनुभन्दा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्दै मानवताको सेवामा लाग्नुपर्ने उनले बताए।

    भोटेकोशी बाढीलगायत विभिन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको आत्मशान्ति र सद्गतिको कामनासहित महायज्ञमा विशेष पितृमुक्ति अनुष्ठानसमेत आयोजना गरिने उनले जानकारी दिए।

    मङ्सिर महिनाभर सञ्चालन हुने महायज्ञमा वेद, पुराण, उपनिषद् तथा वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान र हवनका साथै पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजन र विशेष धान्याञ्चल अनुष्ठान गरिने कार्यक्रम छ।

    स्वामी कमलनयनाचार्यले महायज्ञलाई धार्मिक उत्सवमा मात्र सीमित नराखी वैदिक विश्वविद्यालय स्थापनाको अभियान, नेपालको सभ्यता र संस्कृतिको संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनसँग जोडिएको बृहत् अभियानका रूपमा अघि बढाउन खोजिएको बताए। यसका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।