काठमाडौँ– बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा घरघरमा नौ प्रकारका वनस्पति भित्र्याएर नवदुर्गाको पूजा आराधना गरिँदै छ। घटस्थापनादेखि दुर्गा भवानीको आह्वान गरी पूजा गरिँदै आएको दसैँघर तथा पूजा कोठामा फूलपाती भित्र्याउने परम्परा धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्त्वको मानिन्छ।
फूलपातीका रूपमा भित्र्याइने नौ सामग्रीलाई नवपत्रिका पनि भनिन्छ। यसमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक र मानेवृक्ष समावेश हुन्छन्। यी वनस्पतिलाई शुभताको प्रतीक मानेर बाजागाजासहित घर तथा पूजा स्थलमा भित्र्याउने चलन छ।
धर्मशास्त्रविद्हरूका अनुसार फूलपातीमा समावेश प्रत्येक वनस्पतिमा नवदुर्गाका सहायक देवीको प्रतीक मानेर पूजा गरिन्छ। केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानेवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकहारिणी र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्। दुर्गा भवानीको शक्ति र सामर्थ्य अभिवृद्धिमा सहायक देवीहरूको भूमिका रहने विश्वासका आधारमा नवपत्रिकालाई विशेष विधिपूर्वक पूजा गरिन्छ। फूलपाती भित्र्याएपछि नौवटै देवीको आह्वान गरी पूजा आराधना गर्ने चलन छ।
फूलपातीका नौ सामग्री र तिनमा पूजिने देवी:
केराको बोट: ब्रह्माणी
दारिम: रक्तदन्तिका
धानको बाला: लक्ष्मी
हलेदो: दुर्गा
मानेवृक्ष: चामुण्डा
उखु: कालिका
बेलपत्र: शिवा
अशोक: शोकहारिणी
जयन्ती: कात्तिकी देवी
फूलपातीलाई दसैँको धार्मिक अनुष्ठानसँगै प्रकृति र वनस्पतिप्रतिको सम्मानसँग जोडेर पनि हेरिन्छ। विभिन्न वनस्पतिलाई देवीका प्रतीकका रूपमा पूजा गर्ने परम्पराले नेपाली समाजमा प्रकृति र धार्मिक आस्थाबीचको सम्बन्ध झल्काउँछ।
धर्मशास्त्रविद्हरूका अनुसार फूलपाती भित्र्याउन छुट्टै साइत आवश्यक पर्दैन। परम्पराअनुसार सप्तमीका दिन उपयुक्त विधि अपनाएर फूलपाती घर वा पूजा कोठामा भित्र्याई पूजा आराधना गर्न सकिन्छ। फूलपातीसँगै दसैँको धार्मिक उत्सव थप उल्लासमय बन्ने गर्छ।