दसैँको फूलपाती आज, घरघर र शक्तिपीठमा नवपत्रिका भित्र्याइँदै - Chaitanya News
  • 2026-10-17
  • 08:48:10
  • शनिबार,कार्तिक ०१, २०८३
  • दसैँको फूलपाती आज, घरघर र शक्तिपीठमा नवपत्रिका भित्र्याइँदै

    दसैँको फूलपाती आज, घरघर र शक्तिपीठमा नवपत्रिका भित्र्याइँदै

    काठमाडौँ– बडादसैँअन्तर्गत आज सातौँ दिन अर्थात् फूलपाती। आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका दुर्गा मन्दिर, शक्तिपीठ तथा घरघरमा विधिपूर्वक फूलपाती भित्र्याएर पूजा आराधना गरिँदै छ। दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको फूलपातीलाई दुर्गा भवानीको विशेष पूजा सामग्रीका रूपमा भित्र्याउने परम्परा रहिआएको छ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँको पहिलो दिन घटस्थापनाजस्तै सप्तमी, अष्टमी, नवमी र दशमी तिथिको पनि विशेष महत्त्व छ। फूलपातीका दिन नवपत्रिका अर्थात् नौ प्रकारका पात तथा वनस्पतिलाई पूजा गरेर दुर्गा पूजा गर्ने स्थानमा भित्र्याउने शास्त्रीय परम्परा छ।

    फूलपातीका रूपमा केरा, दाडिम, धान, हलेदो, मानेवृक्ष, कचु, बेल, अशोक र जयन्तीका पात तथा वनस्पति प्रयोग गरिन्छ। यी नवपत्रिकामा क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीको आह्वान गरी पूजा गर्ने चलन छ। फूलपाती भित्र्याएपछि दसैँको पूजा विधिले थप विशेषता पाउने धार्मिक विश्वास छ।

    फूलपातीको अवसरमा राजधानी काठमाडौँस्थित हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने विशिष्ट परम्परा छ। यस परम्पराले गोरखा र काठमाडौँबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई पनि स्मरण गराउँछ।

    परम्पराअनुसार गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर समुदायका छ जना व्यक्तिले फूलपाती ल्याउने गर्छन्। त्यसपछि जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण समुदायका छ जनाले फूलपाती ल्याउने चलन छ। जमलबाट बाजागाजासहित फूलपातीलाई हनुमानढोका दरबारको दसैँघरमा पुर्‍याएर विधिपूर्वक भित्र्याइन्छ।

    फूलपाती भित्र्याउने दिनलाई दसैँको चहलपहल बढ्ने महत्त्वपूर्ण अवसरका रूपमा पनि लिइन्छ। घरघरमा जमरा, फूलपाती र पूजा सामग्रीको तयारी गरिन्छ भने विभिन्न शक्तिपीठमा देवीको दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको उपस्थिति बढ्ने गर्छ।

    नवरात्रका नौ दिन दुर्गा भवानीका नौ स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज कालरात्रि देवीको आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार देवीको पूजा गर्दा शक्ति, साहस, सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। फूलपातीसँगै दसैँको उल्लास र धार्मिक गतिविधि थप बढ्दै जाने नेपाली परम्परा छ।