काठमाडौँ– दसैँको सांस्कृतिक र धार्मिक रौनक बढाउने फूलपाती पर्व आज देशभर मनाइँदै छ। आश्विन शुक्ल सप्तमीका दिन मनाइने यस पर्वमा घरघरमा स्थापना गरिएको दसैँघर तथा पूजाकोठामा नवदुर्गाको प्रतीकका रूपमा फूलपाती भित्र्याएर विधिपूर्वक पूजा आराधना गरिन्छ।
घटस्थापनादेखि सुरु भएको दुर्गापूजाले फूलपातीसँगै थप उत्सवमय रूप लिने गर्दछ। फूलपातीलाई शुभ, समृद्धि र शक्तिको प्रतीकका रूपमा लिने धार्मिक मान्यता छ। यस दिन उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षलगायत सामग्री घरको दसैँघरमा भित्र्याउने परम्परा छ।
नवपत्रिका नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीक मानिन्छ। धर्मशास्त्रविद्हरूका अनुसार केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ। यी देवीलाई नवदुर्गाका सहायकका रूपमा लिने शास्त्रीय मान्यता छ।
फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। यसका लागि छुट्टै साइत आवश्यक नपर्ने धर्मशास्त्रविद्हरू बताउँछन्।
हनुमानढोकामा विशेष समारोह:
फूलपातीको अवसरमा काठमाडौँको हनुमानढोका दरबारस्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने विशिष्ट परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर समुदायका छ जनाले फूलपाती ल्याउने गर्छन्। त्यसपछि काठमाडौँबाट गएका ब्राह्मण समुदायका छ जनाले जीवनपुरदेखि जमलसम्म ल्याउने परम्परा छ।
जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती भित्र्याइन्छ।
राजतन्त्र रहँदा राज्यप्रमुखका रूपमा राजा स्वयं फूलपाती भित्र्याउने समारोहमा सहभागी हुने गरेका थिए। गणतन्त्र स्थापनापछि भने उक्त समारोहमा संस्कृति मन्त्री सहभागी हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।
घर फर्किनेको चहलपहल तीव्र:
फूलपातीसँगै दसैँको सामाजिक चहलपहल पनि बढ्ने गर्दछ। सरकारी कार्यालयमा बिदा सुरु हुने भएकाले विभिन्न पेसा तथा व्यवसायमा संलग्न मानिस परिवारसँग बसेर दसैँ मनाउन गाउँघर फर्किने क्रम तीव्र बन्छ।
दसैँलाई पारिवारिक भेटघाट, आशीर्वाद आदानप्रदान र सांस्कृतिक उल्लासको पर्वका रूपमा लिइन्छ। त्यसैले फूलपातीसँगै सहरबाट गाउँ फर्किनेको चहलपहल बढ्नुका साथै ग्रामीण क्षेत्रमा पनि चाडपर्वको माहोल थप उत्साहपूर्ण बन्छ।
गाउँघरका दोबाटो, चौतारा र चौबाटामा लिंगे तथा रोटे पिङ हाल्ने परम्पराले दसैँको रौनक थप बढाउँछ। यसरी धार्मिक विधि, सांस्कृतिक परम्परा र पारिवारिक मिलनको संगमका रूपमा फूलपातीले दसैँको उल्लासलाई थप गाढा बनाउने गर्दछ।