चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 53 of 1105
  • 2026-10-07
  • 08:56:03
  • बुधबार,आश्विन २१, २०८३

About Author

बाढीको असर विद्युत् निर्यातमा, बंगलादेशको ४० मेगावाट रोकिँदा भारततर्फ पनि कटौती

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि नेपालको विद्युत् निर्यातमा प्रत्यक्ष असर परेको छ। बाढीका कारण बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पूर्णरूपमा रोकिएको छ भने भारततर्फ निर्यात हुने विद्युत्को परिमाणसमेत घटेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएपछि ती आयोजनाबाट उत्पादन हुने विद्युत् बंगलादेश पठाउन नसकिएको हो। नेपालले भारत र बंगलादेश दुवै मुलुकमा गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यातको अनुमति पाएको थियो। तर, रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीले उत्पादन तथा प्रसारण संरचनामा क्षति पुर्‍याएपछि निर्यातका लागि उपलब्ध विद्युत् घटेको प्राधिकरणले जनाएको छ। बाढीबाट प्राधिकरण तथा निजी क्षेत्रका गरी १२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। सञ्चालनमा रहेका आयोजनाका संरचनामा मात्रै नभई निर्माणाधीन आयोजनाका बाँध, प्रसारण संरचना, सुरुङ, विद्युत्गृह तथा अन्य पूर्वाधारमा समेत क्षति पुगेको छ। आयोजनाहरूबाट नियमित उत्पादन हुन नसकेपछि आन्तरिक आपूर्तिसँगै निर्यात व्यवस्थापनमा समेत दबाब परेको छ। प्रभावित आयोजनाबाट उत्पादन पुनः सञ्चालनमा नआएसम्म भारततर्फको विद्युत् निर्यातमा थप कटौती हुन सक्ने प्राधिकरणको भनाइ छ। उत्पादनसँगै आयोजनामा फसेकाको खोजी चुनौतीपूर्ण: बाढीले विद्युत् उत्पादनमा मात्रै असर गरेको छैन, प्रभावित आयोजनामा कार्यरत श्रमिक तथा कर्मचारीको खोज तथा उद्धारसमेत जटिल बनेको छ। लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त टोलीले सुरुङभित्र प्रवेश गरी खोजी गरिरहेको छ। टोलीले सुरुङभित्र करिब १ सय ५० मिटरसम्म पुगेर दुई स्थानमा साना होल बनाएर फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेको छ। चिलिमे हाइड्रोपावरमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार भइरहेको छ। माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ९३ जनाको टोली खोज तथा उद्धारमा खटिएको छ। टोलीले पाँचवटा एक्स्काभेटर प्रयोग गरी सुरुङको आउटलेटमा थुप्रिएको लेदो, माटो तथा अन्य अवरोध हटाइरहेको छ। राति करिब २ बजेसम्म काम जारी राख्दै सुरुङको आउटलेटमा रहेको होल साँघुरो भएपछि क्राउन क्षेत्रमा ब्लास्टिङ गरी होल ठूलो बनाउने र सफा गर्ने कामसमेत गरिएको छ। सुरुङभित्र पुगेर सम्भावित रूपमा फसेका व्यक्तिको खोजी गर्न आउटलेट खुलाउने कामलाई प्राथमिकता दिइएको छ। त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना, गैरसैनिक जनशक्ति र आयोजनाका अधिकारीसहितको टोली परिचालन भएको छ। सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजना प्रबन्ध निर्देशकसहितको टोलीले आयोजना कार्यालय र आवास क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्ने बाटो खोल्ने काम गरिरहेको छ। भारी पहिरो र लेदोका कारण अवरुद्ध क्षेत्रमा एक्स्काभेटर र बुर्कट प्रयोग गरेर बाटो बनाउने तथा माटो हटाउने काम भइरहेको छ। ९७४ जना अझै सम्पर्कविहीन: भोटेकोशी बाढीबाट प्रभावित १२ वटा जलविद्युत् आयोजनामा कार्यरत नेपाली तथा विदेशी गरी ठूलो संख्याका श्रमिक र कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन्। प्रभावित आयोजनामा कार्यरत ९ सय ७४ जना सम्पर्कविहीन रहेको जनाइएको छ। बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा रहेका वा सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे यकिन हुन सकेको छैन। नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धार टोली परिचालन भए पनि पहिरो, लेदो, भौगोलिक कठिनाइ तथा सुरुङभित्र जमेको माटोका कारण उद्धार कार्य जोखिमपूर्ण बनेको छ। यसरी भोटेकोशी बाढीले एकातर्फ जलविद्युत् आयोजनाका पूर्वाधार र मानवीय जनशक्तिमा ठूलो क्षति पुर्‍याएको छ भने अर्कोतर्फ नेपालको विद्युत् निर्यातलाई समेत प्रभावित बनाएको छ। प्रभावित आयोजना सञ्चालनमा आउन नसक्दा बंगलादेशतर्फको निर्यात रोकिएको छ भने भारततर्फको निर्यातसमेत घटेको छ।

News by बाढीको असर विद्युत् निर्यातमा, बंगलादेशको ४० मेगावाट रोकिँदा भारततर्फ पनि कटौती :