काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्न आवश्यक नरहेको बताएका छन्। युक्रेन युद्ध होस् वा अन्य कुनै अमेरिकी आक्रोश, राष्ट्रपति पुटिनले शुक्रबार अमेरिकासँग कुनै पनि वार्ताको सम्भावनालाई खारेज गरेका हुन्। नोभेम्बरमा हुने जी–२० शिखर सम्मेलनमा जो बाइडेनसँग छुट्टाछुट्टै भेट्ने सम्भावनाको बारेमा सोधिएको प्रश्नको जवाफमा पुटिनले भने, ‘हामीले उहाँलाई सोध्नुपर्छ कि उहाँ हामीसँग यसरी कुरा गर्न चाहनुहुन्छ वा चाहनुहुन्न। इमानदारीपूर्वक भन्नुपर्दा, म यसको कुनै आवश्यकता देख्दिन।’ उनले इन्डोनेसियामा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने वा नहुने अझै सुनिश्चित भइनसकेको बताए। सञ्चारमाध्यमसँग कुरा गर्दै राष्ट्रपति पुटिनले भने, ‘त्यहाँ जाने मेरो योजना अझै पूरा भइसकेको छैन। रुस पक्कै पनि सहभागी हुनेछ। हामी अझै विचार गर्दैछौँ। राष्ट्रपति पुटिन पहिलो रुस–मध्य एसिया शिखर सम्मेलनमा सहभागी हुन कजाकिस्तान पुगेका छन्। यस साताको सुरुवातमा अमेरिकी राष्ट्रपतिले पनि पुटिनलाई भेट्नेबारे यस्तै बयान दिएका थिए। जो बाइडेनले भ्लादिमिर पुटिनलाई भेट्ने आफ्नो ‘कुनै मनसाय’ नभएको बताएका थिए। यद्यपि उनले वार्ताको सम्भावनालाई भने अस्वीकार गरेनन्रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा भएको हमलालाई लिएर लगातार आलोचनाको सामना गरिरहेका छन्। रुसले हालै युक्रेनका धेरै सहरलाई लक्षित गरी मिसाइल प्रहार गरेको छ।


