काठमाडौं– शीर्ष नेताको गृहजिल्ला झापामा प्रतिनिधिसभा सदस्यका लागि प्रभावशाली नेताबीच नै प्रतिस्पर्धा हुँदै छ। पाँच निर्वाचन क्षेत्र रहेको झापामा तीन क्षेत्रमा ‘हेबिवेट’ उम्मेदवार छन्। एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र एमाले स्थायी कमिटी सदस्य तथा पूर्वकानुनमन्त्री अग्नि खरेल प्रतिस्पर्धा गर्दै छन्। राष्ट्रिय राजनीतिमा प्रभावशाली यी मैदानमा उत्रिएपछि झापा चुनावी ‘हट केक’ बनेको छ। एमाले अध्यक्ष ओलीले तुलनात्मक रूपमा कमजोर र विगतकै प्रतिस्पर्धी पाएका छन्। शर्मा र खरेल तथा सिटौला र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ। झापामा शक्तिमा रहेको एमाले र राप्रपाबीच तालमेल छ। सत्तारूढ गठबन्धनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी छन्।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट तेस्रोपटक चुनावी मैदानमा होमिएका छन्। शर्मा यसअघि ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित भएका थिए। ०७४ मा उनलाई तत्कालीन वामगठबन्धनका उम्मेदवार माओवादीका राम कार्कीले रोके । यसपटक उनी संसद् छिर्ने तेस्रो प्रयास गर्दै छन्। यसपटक उनले एमाले स्थायी कमिटी सदस्य अग्नि खरेल प्रतिस्पर्धी पाएका छन्।
०७४ मा शर्माले ३३ हजार तीन सय १० मत प्राप्त गर्दा कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए। ०७० र ०७४ मा एक्लै लडेका शर्मालाई यसपटक माओवादी र एकीकृत समाजवादीको साथ छ। क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाकोे ९ र १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६, ७ वडा पर्छन्।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर १ मा पर्ने वडाहरूमा कांग्रेस, माओवादी र समाजवादीका उम्मेदवारले २८ हजार चार सय ६ मत ल्याएका थिए। स्थानीय तह निर्वाचनमा विनागठबन्धन एक्लै चुनावमा सहभागी भएको एमालेको वडाध्यक्षका उम्मेदवारको मत ३१ हजार दुई सय ३२ थियो। यसपटक राप्रपासँग पनि तालमेल छ। स्थानीय तह निर्वाचनमा राप्रपाका वडाध्यक्ष उम्मेदवारले क्षेत्र नम्बर १ मा ५ हजार आठ सय ३० मत पाएका थिए। राप्रपा र एमालेको मत जोड्दा ३७ हजार ६२ हुन्छ।
क्षेत्र नं. २ . एमाले छाडेका राना र एमाले उम्मेदवार घिमिरेबीच प्रतिस्पर्धा
झापा २ मा यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक छ। मनोनयन दर्ताका अघिल्लो दिनसम्म एउटै पार्टी एमालेमा रहेका देवराज घिमिरे र हरि रानाबीच चुनावी प्रतिस्पर्धा हुँदै छ। एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको प्रमुखमा ०७४ मै निर्वाचित भएका राना मनोनयनको दिन बिहान एमाले छाडेर गठबन्धनबाट उम्मेदवार बनेका छन्।
एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका रानाले २३ असोज बिहान एमाले छाडेको उद्घोष गर्दै माओवादीको चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराए। एमालेका स्थायी कमिटी सदस्य घिमिरे र एमाले छाडेका रानाबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ। अर्जुनधाराको नगरप्रमुख भएर काम गरिसकेका राना एमालेको क्षेत्र नम्बर २ को ‘खम्बा’ मानिन्थे। एमाले छाडेपछि रानालाई एमालेको असन्तुष्ट मत आउने आकलन हुँदै आएको छ।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने यो क्षेत्र वामगठबन्धनले जितेको थियो। ०७४ मा वामगठबन्धनका तर्फबाट एमालेकी पवित्रा निरौला खरेलले जितेकी थिइन्। यसपटक उनलाई एमालेले उम्मेदवार बनाएन।
खरेलले ४५ हजार आठ सय १७ मत ल्याउँदा कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त ल्याएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त वडागत मतपरिणाम हेर्दा पनि यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ। अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १, २ र ३, बिर्तामोडको १ देखि ९ नम्बरसम्मका वडा र कन्काई नगरपालिकाको ७ र ८ नम्बर गरी जम्मा २५ वटा वडा रहेको यो निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी र समाजवादी वडाध्यक्षका उम्मेदवारले ३५ हजार सात सय ८३ मत पाएका थिए।
एमालेका वडाध्यक्षका उम्मेदवारले भने ३६ हजार एक सय ५८ ल्याएका थिए। यहाँ राप्रपाका वडाध्यक्ष उम्मेदवारले आठ हजार ३८ मत प्राप्त गरेका थिए। क्षेत्र नम्बर २ मा पनि एमालेले राप्रपासँग तालमेल गरेको छ।
क्षेत्र नं. ३ . लिङ्देन–सिटौला आमनेसामने
झापा ३ मा ०७४ मा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाका राजेन्द्र लिङ्देन विजयी भए। प्रतिनिधिसभामा विजयी भएसँगै लिङ्देनले राप्रपाको अध्यक्षका लागि आधार तय गरे। उनी राप्रपा अध्यक्षमा पनि बने। ०७४ मा सिटौलाले ३१ हजार एक सय ७१ मत ल्याउँदा लिङ्देन ४४ हजार ६ सय १४ मत ल्याएर विजयी भएका थिए। त्यो समयमा राप्रपाका लिङ्देनलाई एमाले–माओवादी वामगठबन्धनको सहयोग थियो। यसपटक पनि यी दुई पुराना प्रतिस्पर्धीबीच चुनावी भिडन्त हुँदै छ। यद्यपि, अवस्था विगतको जस्तो छैन। यसपटक लिङ्देनलाई एमालेको साथ रहे पनि सिटौलालाई माओवादी र समाजवादीको साथ छ। सिटौला लिङ्देनसँग बदला लिने दाउमा छन्।
गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारलाई आएको मतपरिणामअनुसार सत्तारूढ गठबन्धनका वडाध्यक्षले ३३ हजार ६ सय नौ मत पाएका थिए। यो क्षेत्रमा राप्रपाका वडाध्यक्षहरूका उम्मेदवारले २१ हजार एक सय ५९ मत पाएका थिए। एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार एक सय १३ मत प्राप्त गरेका थिए। राप्रपालाई एमालेको साथ रहे पनि एमालेभित्र असन्तुष्टि छ। एमालेका डम्बर गिरीले लिङ्देनविरुद्ध बागी उम्मेदवारी दिएका छन्। गत वैशाखमा हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनसँग पराजित भएका गिरीले बागी उम्मेदवारी हालेका छन्। एमालेभित्र प्रभाव राख्न सक्ने गिरीले एमालेको मत काट्ने आकलन छ।
क्षेत्र नं. ४ . एमालेका एलपी साँवा र कांग्रेसका देउमान थेबे पुरानै प्रतिस्पर्धी
झापा ४ मा पुरानै प्रतिस्पर्धी एमालेका एलपी साँवा र कांग्रेसका जिल्ला सभापति देउमान थेबेबीच चुनावी प्रतिस्पर्धा हुँदै छ। ०७४ मा पनि उनीहरू दुईबीच प्रतिस्पर्धा भएको थियो। त्यो समयमा साँवा विजयी भएका थिए। साँवाले ४३ हजार पाँच सय १५ मत ल्याउँदा थेबेले २६ हजार आठ सय २२ मत ल्याएका थिए।
यसपटक पनि यी दुईबीच प्रतिस्पर्धा हुने देखिन्छ । यो निर्वाचन क्षेत्रमा शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका, कन्काई नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ नम्बर वडा, गौरादहको वडा नम्बर ९ र गौरीगन्जको वडा नम्बर १ र २ पर्छ। गत स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार निकै प्रतिस्पर्धा हुने देखिन्छ।
त्यसवेलामा एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार दुई सय ७३ मत पाएका थिए। कांग्रेस–माओवादीसहितको गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले ३२ हजार आठ सय ९२ मत ल्याएका थिए।
यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारले चार हजार पाँच सय ५६ मत पाएका थिए। यहाँ एमाले–राप्रपाबीचको तालमेल छ। यद्यपि, राप्रपाकी खुश्बु ओलीले एमालेका साँवाविरुद्ध बागी उम्मेदवारी दिएपछि राप्रपाको मत काटिने सम्भावना छ।
क्षेत्र नं. ५ . एमाले अध्यक्ष ओलीसँग पुरानै प्रतिस्पर्धी
एमाले अध्यक्ष केपी ओलीले झापा ५ मा ०७४ कै प्रतिस्पर्धी पाएका छन्। सत्तागठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। ओली र अधिकारीले ०७४ मा यही क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए। त्यसवेला ओली माओवादीसहितको गठबन्धनबाट थिए भने अधिकारी कांग्रेसबाट थिए। यसपटक भने अधिकारी कांग्रेस, माओवादीसहितको सत्तागठबन्धनको उम्मेदवार बनेका छन्।
०७४ मा वामगठबन्धनका तर्फबाट उम्मेदवार बन्दै ओलीले ५७ हजार एक सय ३९ मत पाएका थिए भने अधिकारीले २८ हजार दुई सय ९७ मत पाएका थिए। यसपटक राजनीतिक समीकरण केही फरक छ। एमाले फुटेर एकीकृत समाजवादी बनेको छ। समाजवादी पनि अहिले सत्तागठबन्धनमा छ। माओवादी पनि कांग्रेससहितको गठबन्धनमा छ।
यो क्षेत्रमा ओलीका प्रतिस्पर्धी परिवर्तन हुँदै आएका छन्। ०४८ देखि ओली भने यही क्षेत्रमा निरन्तर निर्वाचन लड्नै आएका छन्। ०४८ देखि ०५६ सम्म यो क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ६ मा थियो। ०६४ र ०७४ मा यो क्षेत्र झापा क्षेत्र नम्बर ७ भयो। ०७४ यता भने यो क्षेत्र झापा क्षेत्र नम्बर ५ भएको छ। ०४८ यता ओलीले ०६४ मा मात्र यहाँ पराजित भएका छन्। ओलीलाई तत्कालीन माओवादीका विश्वदीप लिङ्देन (हाल कांग्रेस)ले पराजित गरेका थिए।
झापा ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडा र गौरीगन्ज गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ पर्छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यी चार पालिका प्रमुखमा एमालेले एउटामा मात्र जित निकालेको छ। एउटामा राप्रपा र दुईवटामा कांग्रेसले जित निकालेको छ।
तर, वडाध्यक्षका उम्मेदवारको मत हेर्दा एमाले अगाडि छ। एमालेको वडाध्यक्ष उम्मेदवारले ४१ हजार ६ सय १९ मत पाएका छन्। सत्तागठबन्धन कांग्रेस, माओवादी र समाजवादीका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ६ सय ६९ मत पाएका छन्।
यो निर्वाचन क्षेत्रको निर्णयक मानिएको राप्रपाका वडाध्यक्षका उम्मेदवारले आठ हजार तीन सय ५३ मत ल्याएका थिए। यो क्षेत्रमा राप्रपाका तर्फबाट दमकमा निर्वाचित मेयर तथा राप्रपा प्रदेश अध्यक्ष राम थापा निर्णायक मानिन्छन्।