पाँच दिन मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-10-26
  • 14:06:50
  • सोमबार,कार्तिक १०, २०८३
  • पाँच दिन मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

    पाँच दिन मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ: देशभर आगामी पाँच दिन मौसममा बदली हुने तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

    नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै मौसममा बदली सुरु हुने र बुधबारदेखि वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।

    मङ्गलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने सम्भावना छ।

    बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। बिहीबार र शुक्रबार पनि देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा मौसम बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

    मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले मौसमको अद्यावधिक सूचना लिएर आवश्यक तयारी गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।