चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 45 of 1104
  • 2026-10-07
  • 02:44:40
  • मंगलबार,आश्विन २०, २०८३

About Author

रसुवा बाढीः मत्यु हुनेको सङ्ख्या १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

काठमाडौँ– भदौं १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ६७ पुगेको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो। प्राधिकरणकाअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन्। काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ। हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ। बाढी तथा विपद्का कारण करिव ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ। रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन्। त्यसमध्ये रसुवा जिल्लाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी रहेका छन्। नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। त्यसमध्ये नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना छन् । यस्तै, करिव ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सनाखत भएका शवको संख्या सम्पर्कविहीनको संख्याबाट घटाइएको प्राधिकरणले जनाएको छ। विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका छन्। नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार ७ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन्। विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना राखिएका छन्। तीमध्ये रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना रहेका छन्। विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको छ। उपचारपछि २५२ जना डिस्चार्ज भइसकेका छन्। यसैगरी, नेपाली सेनाले ३ हजार ५३५ जना तथा सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनालाई उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ।

News by रसुवा बाढीः मत्यु हुनेको सङ्ख्या १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन :