काठमाडौँ– देशका हिमाली तथा पहाडी क्षेत्रमा आज हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण यी भूभागमा आंशिक बदली हुने र एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। यद्यपि हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
यस्तै, आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने अनुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। राति तथा बिहानको समयमा तराईका भूभाग, उपत्यका र खोँचहरूका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।