धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले यस वर्ष १६३ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठाएको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै ज्येष्ठ नागरिकलाई तीर्थयात्राको अवसर प्रदान गर्ने उद्देश्यले उपमहानगरपालिकाले उनीहरूलाई मुक्तिनाथ यात्रामा पठाएको हो।
सोमबार नगर प्रमुख गोपाल हमालसहित जनप्रतिनिधि तथा कर्मचारीले तीर्थयात्रीको टोलीलाई बिदाइ गरेका छन्। टोलीलाई बिदाइ गर्दै नगर प्रमुख हमालले यात्राका क्रममा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने भएकाले स्वास्थ्यकर्मीसहित टोली पठाइएको बताए।
उनले यात्राका क्रममा कुनै स्वास्थ्य समस्या वा अन्य कठिनाइ भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न तीर्थयात्रीलाई आग्रहसमेत गरे।
धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि हरेक वर्ष ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गराउँदै आएको छ। कार्यक्रमको पहिलो वर्ष १३१ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ लगिएको थियो। त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा १४० जना, २०८१/८२ मा १३१ जना र २०८२/८३ मा १५० जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई मुक्तिनाथ दर्शन गराइएको थियो।
उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षमा पठाइएका १६३ जनासहित हालसम्म ७१५ जना नगरवासीले मुक्तिनाथ दर्शन गर्ने अवसर पाएका छन्।
यस कार्यक्रममार्फत उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको धार्मिक आस्थाको सम्मान गर्नुका साथै उनीहरूलाई तीर्थयात्राको अवसर प्रदान गर्दै आएको छ।