छिमेकीसँगको सम्बन्धमा हीनताबोध नदेखाउन सरकारलाई नारायणकाजीको चेतावनी - Chaitanya News
  • 2026-11-03
  • 10:49:14
  • मंगलबार,कार्तिक १८, २०८३
  • छिमेकीसँगको सम्बन्धमा हीनताबोध नदेखाउन सरकारलाई नारायणकाजीको चेतावनी

    छिमेकीसँगको सम्बन्धमा हीनताबोध नदेखाउन सरकारलाई नारायणकाजीको चेतावनी

    काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा दिएको ‘भारतविरोधी राष्ट्रवादको युग अन्त्य भएको’ अभिव्यक्तिले नेपालको परराष्ट्र नीतिको दिशाबारे बहस सिर्जना गरेको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाएका छन्।

    काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकीसँग समान, सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्ने धारणा राखे। कुनै एक छिमेकीसँगको सम्बन्धलाई प्राथमिकता दिँदै अर्कोसँगको सम्बन्ध कमजोर बनाउने सोच राष्ट्रिय हितअनुकूल नहुने उनको भनाइ थियो।

    उनले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई नेपालको स्वतन्त्र परराष्ट्र नीतिको मर्मसँग जोडेर हेर्नुपर्ने बताए। सरकारका नेतृत्वकर्ताले भारतसँगको सम्बन्धबारे मात्रै होइन, चीनसँगको सम्बन्धबारे पनि यस्तै दृष्टिकोण राख्ने हुन् कि भन्ने आशंका व्यक्त गर्दै श्रेष्ठले छिमेकीसँगको सम्बन्धमा हीनताबोध वा गैरजिम्मेवारी देखाउन नहुने बताए।

    ‘दिल्लीमा गएर भारतविरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्नुभएछ। अहिलेको सरकारदेखि मलाई निकै डर लागेको छ, कतै चीनमा गएर चीनसँगको सुमधुर मित्रता हाम्रो राष्ट्रिय राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने पो हुन् कि,’ उनले टिप्पणी गरे।

    श्रेष्ठले नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमा आधारित हुनुपर्नेमा जोड दिए। भारत र चीन दुवैसँगको सम्बन्धमा समान दृष्टिकोण अपनाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध अघि बढाउनुपर्ने उनको धारणा छ।

    उनले वर्तमान सरकारले नेपालको स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्ने भए पनि व्यवहारमा त्यसअनुसार अघि बढेको नदेखिएको बताए। छिमेकी मुलुकसँगको सम्बन्धमा कुनै प्रकारको लापरबाही, गैरजिम्मेवारी वा हीनताबोध प्रदर्शन गर्न नहुने उनको भनाइ थियो।

    परराष्ट्र नीतिको विषय उठाएका श्रेष्ठले आन्तरिक सुशासनलाई पनि राज्य सञ्चालनको आधारका रूपमा व्याख्या गरे। पार्टीभित्र सुशासन कायम गर्न नसक्ने राजनीतिक शक्तिले राज्य र समाजमा सुशासन स्थापित गर्न नसक्ने उनको तर्क छ।

    सुशासनबिना गरिबी उन्मूलन, नयाँ विकास मोडेलको कार्यान्वयन र समाजवाद निर्माण सम्भव नहुने उनले बताए। यसका लागि कम्युनिष्ट पार्टीहरूले आफ्नै संगठनभित्र सुशासनको अभ्यास गर्नुपर्ने र चीनको कम्युनिष्ट पार्टीको अनुभवबाट पनि सिक्न सकिने उनको धारणा थियो।

    श्रेष्ठले नेपालको कूटनीतिक प्राथमिकता कुनै छिमेकीको पक्ष वा विपक्षमा उभिनु नभई दुवैसँग सन्तुलित सम्बन्ध कायम गर्दै राष्ट्रिय हितको रक्षा गर्नु हुनुपर्ने सन्देश दिएका छन्।