नदी नियन्त्रणमा खर्च २३.४ प्रतिशत, भौतिक प्रगति ३४.९ प्रतिशत - Chaitanya News
  • 2026-11-03
  • 10:58:03
  • मंगलबार,कार्तिक १८, २०८३
  • नदी नियन्त्रणमा खर्च २३.४ प्रतिशत, भौतिक प्रगति ३४.९ प्रतिशत

    नदी नियन्त्रणमा खर्च २३.४ प्रतिशत, भौतिक प्रगति ३४.९ प्रतिशत

    काठमाडौँ– बाढी र नदी कटानबाट बस्ती तथा खेतीयोग्य जमिन जोगाउने उद्देश्यले सञ्चालन गरिएका नदी नियन्त्रणका कार्यक्रमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अपेक्षाअनुसार गति लिन सकेका छैनन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका कार्यक्रमले तीन महिनामा त्रैमासिक लक्ष्यको ३४.९ प्रतिशत मात्रै भौतिक प्रगति हासिल गरेका छन्।

    नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। तर पहिलो त्रैमासमा विनियोजित त्रैमासिक बजेटको तुलनामा खर्च र भौतिक प्रगति दुवै कमजोर देखिएका छन्।

    महाशाखाका अनुसार पहिलो त्रैमासका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो त्रैमासिक बजेटको २३.४ प्रतिशत हो। खर्चको तुलनामा भौतिक प्रगति भने ३४.९ प्रतिशत पुगेको छ।

    महाशाखा प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार उक्त अवधिमा २.९ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास गर्ने काम सम्पन्न भएको छ। नदी नियन्त्रणका लागि आवश्यक संरचना निर्माणको गति समग्रमा कमजोर देखिए पनि केही आयोजनाले भने निर्धारित लक्ष्यभन्दा बढी काम गरेका छन्।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले त्रैमासिक भौतिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति गरेको छ। त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति हासिल गरेको छ।

    अन्य आयोजनामध्ये लमही (दाङ) ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति गरेका छन्।

    केही आयोजनाले लक्ष्यभन्दा राम्रो काम गरे पनि समग्र प्रगति भने ३४.९ प्रतिशतमा सीमित छ। नदी कटान, बाढी तथा जलजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सञ्चालन हुने यस्ता कार्यक्रमको प्रभावकारिता समयमै निर्माण सम्पन्न हुनुमा निर्भर रहने भएकाले बाँकी अवधिमा कामको गति बढाउनुपर्ने देखिन्छ।