६२ हजार स्वास्थ्य जनशक्ति परिचालन गरी बालबालिकालाई औषधि खुवाइँदै - Chaitanya News
  • 2026-11-03
  • 11:27:09
  • मंगलबार,कार्तिक १८, २०८३
  • ६२ हजार स्वास्थ्य जनशक्ति परिचालन गरी बालबालिकालाई औषधि खुवाइँदै

    ६२ हजार स्वास्थ्य जनशक्ति परिचालन गरी बालबालिकालाई औषधि खुवाइँदै

    काठमाडौँ– बालबालिकामा पोषणको अवस्था सुधार र जुकाको संक्रमणबाट हुने स्वास्थ्य जोखिम कम गर्ने उद्देश्यले सरकारले देशव्यापी रूपमा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ। आजदेखि दुई दिनसम्म सञ्चालन हुने अभियानमा देशभरका पाँच वर्षमुनिका लाखौँ बालबालिका सहभागी हुँदैछन्।

    स्वास्थ्य सेवा विभागका अनुसार अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।

    कार्यक्रमअन्तर्गत छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइनेछ। बालबालिकाको उमेरअनुसार आवश्यक औषधि तथा पोषणसम्बन्धी सेवा उपलब्ध गराउने अभियानमा देशभर स्वास्थ्य जनशक्ति परिचालन गरिएको छ।

    अभियान सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन्। उनीहरूले तोकिएका केन्द्रमार्फत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने व्यवस्था मिलाएका छन्।

    सरकारले बालबालिकामा भिटामिन ‘ए’ को कमी, कुपोषण तथा जुकाको संक्रमणबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्ने उद्देश्यले वर्षमा दुई पटक यस्तो अभियान सञ्चालन गर्दै आएको छ। हरेक वर्ष कात्तिक र वैशाखमा सञ्चालन हुने यस कार्यक्रमले बालबालिकाको पोषण तथा स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    अभिभावकलाई आफ्ना बालबालिकाको उमेरअनुसार अभियानमा सहभागी गराई निर्धारित सेवा उपलब्ध गराउन आग्रह गरिएको छ।