काठमाडौँ– तिहारमा फूलमालाको माग बढ्ने समय नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले स्वदेशी फूलको व्यापारलाई प्राथमिकता दिन प्लास्टिकजन्य फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको छ। नेपाली किसानले उत्पादन गरेका फूलको बजार सुनिश्चित गर्ने उद्देश्यले महानगरले आफ्नो क्षेत्रभित्र फूल बिक्रीका लागि विभिन्न स्थानसमेत निर्धारण गरेको छ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूल, माला र सजावटका सामग्री बिक्री वितरण नगर्न आग्रह गरेको हो। प्रतिबन्धको अवज्ञा गरी यस्ता सामग्री बिक्री गरेको पाइएमा जफत गरिने महानगरले चेतावनी दिएको छ।
तिहारमा फूलमालाको कारोबार बढ्ने भएकाले स्वदेशी उत्पादनले सहज बजार पाऊन् भन्ने उद्देश्यले महानगरले मल, मार्ट, चौर, मन्दिर परिसर तथा खुला स्थानलाई बिक्री केन्द्रका रूपमा तोकेको जनाएको छ।
महानगरले बानेश्वर–शंखमूल क्षेत्रमा एनबी सेन्टर, आइप्लेक्स मल, सेल्सबेरी, बिग मार्ट शंखमूललाई बिक्रीस्थल तोकेको छ। चाबहिल–सिफल क्षेत्रमा सिफल चौर, एसी कम्प्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार र केएल टावर अगाडिको क्षेत्र समेटिएका छन्।
त्यस्तै, कालिमाटी–कलंकी–स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी र स्वयम्भू धर्मचक्र पार्कमा फूल बिक्री गर्न सकिनेछ। गोङ्गबु–माछापोखरी–नयाँबजार क्षेत्रमा माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँबजार भ्याली कोल्ड स्टोर र गोङ्गबु बिग मार्टलाई बिक्रीस्थल तोकिएको छ।
हाँडीगाउँ–महाराजगञ्ज–बालुवाटार क्षेत्रमा हाँडीगाउँ वडा नम्बर ५ अगाडिको डबली, गणेश मन्दिर डबली, सेल्सबेरी महाराजगञ्ज, बालुवाटार बिग मार्ट र बाँसबारी बिग मार्टमा स्वदेशी फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ।
त्यसैगरी, सिटी सेन्टर र कोर एरियाअन्तर्गत काठमाडौं मल (सुन्धारा), भृकुटीमण्डप, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल, कमलादी, पुतलीसडक, अनामनगर भाटभटेनी र न्युप्लाजालाई बिक्रीस्थल बनाइएको छ।
अन्य क्षेत्रमा फोनेक्स टावर बत्तीसपुतली, तीनकुने चौर र कोटेश्वर स्मार्टमा पनि स्वदेशी फूलमाला बिक्री गर्न सकिनेछ।
प्लास्टिकजन्य फूलमालाको बिक्री रोक्दै स्वदेशी उत्पादनका लागि बजार उपलब्ध गराउने महानगरको यो व्यवस्थाले तिहारको व्यापारमा नेपाली किसान र फूल उत्पादकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
