काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सको सामना गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर र जनकपुर मैदानमा उत्रनेछन्। तीन खेलबाट एक जित र दुई हार बेहोरेको विराटनगरलाई जितको लयमा फर्कने चुनौती छ। जनकपुर भने तीन खेलमा दुई जित निकाल्दै तुलनात्मक रूपमा राम्रो अवस्थामा छ।
विराटनगरले यसअघि चितवन राइनोज तथा कर्णाली याक्ससँग हार बेहोरेको थियो भने सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो। जनकपुरले भने पहिलो खेलमा कर्णालीसँग हार बेहोरे पनि त्यसपछि काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गर्दै लगातार दुई जित निकालेको थियो।
त्यसैले आजको खेल विराटनगरका लागि अंकतालिकामा आफ्नो अवस्था सुधार्ने अवसर हुनेछ भने जनकपुर आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ।
यसैगरी आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। दुई खेल खेलेको लुम्बिनीले एक जित र एक खेलमा अंक बाँडेको छ।
लुम्बिनीले प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो। दोस्रो खेलमा चितवन राइनोजसँग वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका थिए।
यता पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। दुई खेल खेलेको पोखरा दुवैमा पराजित भएको छ। पहिलो खेलमा सुदूरपश्चिमसँग हारेको पोखरा दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
आजको खेल पोखराका लागि प्रतियोगितामा पुनरागमन गर्ने अवसर हुनेछ। लुम्बिनी भने अर्को जित निकाल्दै आफ्नो स्थिति बलियो बनाउने योजनामा रहनेछ।
आजका दुवै खेलले चार टोलीको अंकतालिकाको अवस्थालाई थप प्रभावित पार्ने भएकाले कीर्तिपुरमा प्रतिस्पर्धात्मक क्रिकेट हेर्न पाइने अपेक्षा गरिएको छ।