पोखरा पुग्ने यात्राको सास्ती घट्दै, अन्तिम चरणमा सडक स्तरोन्नति - Chaitanya News
  • 2026-11-03
  • 09:33:41
  • मंगलबार,कार्तिक १८, २०८३
  • पोखरा पुग्ने यात्राको सास्ती घट्दै, अन्तिम चरणमा सडक स्तरोन्नति

    पोखरा पुग्ने यात्राको सास्ती घट्दै, अन्तिम चरणमा सडक स्तरोन्नति

    गण्डकी– कुनै समय पोखरा पुग्न घण्टौँसम्म धुलो र हिलोसँग जुध्नुपर्ने अवस्था थियो। साँघुरा सडक, अव्यवस्थित चोक र निर्माणका क्रममा हुने जाम यात्रुका लागि नियमित सास्ती बनेका थिए। तर अहिले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडकको स्वरूप फेरिँदै गएको छ। फराकिला सडक, व्यवस्थित चोक र नयाँ पुल निर्माणसँगै यस राजमार्गले नयाँ रूप लिँदैछ।

    गण्डकी प्रदेशको राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँ, चितवनलगायत प्रमुख सहरसँग जोड्ने यो सडक स्तरोन्नतिको काम अहिले अन्तिम चरणमा पुगेको छ। कुल ८१ किलोमिटर दूरीको सडक आयोजनाअन्तर्गत पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ।

    आयोजना कार्यालयका अनुसार पोखरा–जामुने पश्चिम खण्डको बाँकी काम आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडक कालोपत्र, रोड मार्किङ, ट्राफिक सङ्केत र सडक सुरक्षासम्बन्धी कामलाई तीव्रता दिइएको छ।

    पूर्वी खण्ड निर्माण सम्पन्न, मर्मतको जिम्मेवारी पनि कम्पनीकै

    जामुने–मुग्लिन पूर्वी खण्डको निर्माण कार्य पूरा भइसकेको छ। निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको र अहिले त्रुटि सच्चाउने अवधि (डिफेक्ट लायबिलिटी पिरियड–डीएलपी) सुरु भएको आयोजना कार्यालयका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

    ४१.४५ किलोमिटर दूरीको यस खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा विस्तार गरिएको छ। अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गरिएको छ। यस खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुलसमेत निर्माण भएका छन्।

    निर्माण सम्पन्न भएपछि सडकमा देखिने सम्भावित त्रुटि सुधार गर्ने जिम्मेवारी निर्माण कम्पनीकै हुनेछ। डीएलपी अवधि पूरा भएपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मेवारी पनि कम्पनीले नै लिने व्यवस्था रहेको इन्जिनियर पाण्डेले बताए।

    तनहुँको मादी नदीमा निर्माण भइरहेको सिग्नेचर पुल भने छुट्टै ठेक्कामार्फत अघि बढाइएको छ।

    पश्चिम खण्डमा बाँकी काम धमाधम:

    पोखरा–जामुने पश्चिम खण्डमा पनि निर्माणले अन्तिम रूप लिँदैछ। ३८.८८ किलोमिटर दूरीको यस खण्डमा करिब पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी रहेको आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताए।

    पोखरा महानगरपालिका–१० स्थित अमरसिंहचोकदेखि सेती पुलसम्म तथा तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्र गर्ने तयारी भइरहेको छ। बाँकी सडकमा रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्ने र सडक सुरक्षासम्बन्धी काम भइरहेको उनले जानकारी दिए।

    यस खण्डमा १८.५ किलोमिटर सडक छ लेन र बाँकी सडक चार लेनमा निर्माण गरिएको छ। सहरी क्षेत्र बढी भएकाले छ लेनको सडक बनाइएको हो। तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा समेत छ लेन सडक विस्तार गरिएको छ।

    पश्चिम खण्डमा निर्माण गर्नुपर्ने १३ पुलमध्ये १२ वटा सम्पन्न भएका छन्। पोखराको सेती नदीमाथि बन्ने सिग्नेचर पुल भने छुट्टै ठेक्काअन्तर्गत निर्माण भइरहेको छ।

    सडक विस्तारसँगै फेरिए सहरका चोक:

    पोखरा–मुग्लिन सडक आयोजना केवल सडक फराकिलो बनाउने परियोजनामा सीमित छैन। यसले सडक आसपासका सहरी क्षेत्र र चोकको स्वरूपसमेत परिवर्तन गरेको छ।

    अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक र तालचोकलगायत क्षेत्रमा मापदण्डविपरीतका संरचना हटाएर सडक तथा चोक फराकिलो बनाइएको छ। यसले सवारी आवागमन व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    पहिले साँघुरा सडक र चोकका कारण हुने सवारी चाप कम गर्न सडक विस्तारले महत्त्वपूर्ण भूमिका खेलेको छ। सहरी क्षेत्रको सडक संरचना सुधारिँदा स्थानीय बासिन्दा र व्यवसायीलाई समेत सहजता थपिएको छ।

    निर्माणमा ढिलाइ, पर्यटन व्यवसायीको दबाब:

    पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम विसं २०७८ सालदेखि सुरु भएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा अघि बढाइएको यो सरकारको प्राथमिकताप्राप्त आयोजना हो।

    पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक निर्माणका लागि चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले छ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का पाएको थियो। पश्चिम खण्डको ३८.८८ किलोमिटर सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लिएको थियो।

    निर्माण सुरु भए पनि प्रारम्भिक चरणमा आयोजनाले अपेक्षित गति लिन सकेको थिएन। सडक निर्माणका कारण लामो समयसम्म धुलो, हिलो र जामको समस्या खेप्नुपरेपछि पोखराका पर्यटन व्यवसायीले समेत काममा ढिलाइ नगर्न दबाब दिएका थिए।

    अहिले भने सडकका अधिकांश भागमा स्तरोन्नतिको काम पूरा भएसँगै यात्रामा सहजता थपिएको छ। काठमाडौँ र चितवन हुँदै पोखरा पुग्ने पर्यटक तथा सर्वसाधारणले पहिलेको तुलनामा फराकिलो सडकमा यात्रा गर्न पाएका छन्।

    पोखराको पर्यटन र अर्थतन्त्रसँग जोडिएको आयोजना:

    पोखरा गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो। यहाँको पर्यटन गतिविधि सडक यातायातसँग प्रत्यक्ष जोडिएको छ। काठमाडौँ, चितवन तथा अन्य क्षेत्रबाट पोखरा आउने पर्यटकका लागि पोखरा–मुग्लिन सडक मुख्य मार्ग हो।

    सडक स्तरोन्नतिले यात्रा सहज बनाउनुका साथै पर्यटन व्यवसाय, व्यापार र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। ढुवानी तथा सार्वजनिक यातायात सञ्चालनमा सहजता आउँदा यस क्षेत्रको व्यावसायिक गतिविधि विस्तारमा समेत सहयोग पुग्न सक्छ।

    पश्चिम खण्डको बाँकी निर्माण सम्पन्न भएपछि सडक आयोजनाले थप पूर्णता पाउनेछ। सडक हस्तान्तरणपछि निर्माण कम्पनीले सम्झौताअनुसार एक वर्षसम्म त्रुटि सुधार र थप पाँच वर्षसम्म मर्मतसम्भार गर्नुपर्नेछ।

    वर्षौँदेखि यात्रु र स्थानीयले भोग्दै आएको धुलो, हिलो र साँघुरो सडकको समस्या कम हुँदै जाँदा पोखरा–मुग्लिन राजमार्ग अब नयाँ स्वरूपमा अघि बढिरहेको छ। बाँकी काम समयमै सम्पन्न भए यो सडक गण्डकी प्रदेशको यातायात, पर्यटन र आर्थिक गतिविधिका लागि थप महत्त्वपूर्ण आधार बन्नेछ।