काठमाडौं– जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजा राष्ट्रिय टिमको जिम्मेवारी पूरा गरेर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आइपुगेका छन्। उनी चितवन राइनोजको कप्तानको जिम्मेवारीसहित सोमबार मैदानमा उत्रिएका छन्।
राजा आइतबार रातिसम्म यूएईको सारजहामा अफगानिस्तानविरुद्धको टी–२० सिरिजमा जिम्बाब्वेको कप्तानी गरिरहेका थिए। उक्त खेलमा जिम्बाब्वे ७ विकेटले पराजित भएको थियो। तीन खेलको सिरिज अफगानिस्तानले ३–० ले क्लिन स्विप गरेको थियो।
एनपीएलको तेस्रो सिजनका लागि चितवनमा अनुबन्ध भएका राजा राष्ट्रिय टिमको खेलका कारण सुरुवाती दुई खेलमा उपलब्ध थिएनन्। उनको अनुपस्थितिमा चितवनले इंग्ल्यान्डका अनुभवी अलराउण्डर रवि बोपारालाई कप्तानीको जिम्मेवारी दिएको थियो।
तर, सोमबार चितवनको तेस्रो खेलमा भने कप्तानीको जिम्मेवारी राजाले सम्हालेका छन्। टसका लागि मैदानमा पुगेका राजा एनपीएलमा चितवनका लागि डेब्यु खेलमै कप्तान बनेका हुन्।
चितवनको मार्की खेलाडी तथा नियमित कप्तान कुशल मल्ल भए पनि उनले लगातार सुरुवाती खेलमा कप्तानीको अवसर पाएका छैनन्। यसअघि पनि बोपाराले टोलीको नेतृत्व गरेका थिए भने राजाको आगमनसँगै कप्तानीको जिम्मेवारी फेरिएको छ।
आइतबार राति राष्ट्रिय टिमबाट खेलेका राजा सोमबार नै नेपाल आइपुगेर चितवनको नेतृत्वमा मैदान उत्रिएका हुन्।
यसअघि चितवनले बिहीबार विराटनगरविरुद्ध पहिलो खेल खेल्दा पनि विदेशी खेलाडीहरू डेविड मलान, डान मोस्ली र टम टेलर खेलकै दिन बिहान नेपाल आइपुगेर दिउँसो मैदानमा उत्रिएका थिए। पाकिस्तानका खेलाडीको एनओसी विवादका कारण उनीहरू निर्धारित समयभन्दा ढिलो नेपाल आएका थिए।