चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 42 of 1104
  • 2026-10-07
  • 01:46:22
  • मंगलबार,आश्विन २०, २०८३

About Author

सरकारले गर्‍यो दुई सचिवको सरुवा, खत्री र कुँवर प्रदेश प्रमुख सचिवमा

काठमाडौँ–सरकारले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका प्रमुख सचिव परिवर्तन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रदेशका प्रमुख सचिवलाई अन्यत्र सरुवा गर्दै नयाँ सचिवलाई प्रमुख सचिवको जिम्मेवारी दिएको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ। उनको स्थानमा अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुखका रूपमा कार्यरत उत्तरकुमार खत्रीलाई सुदूरपश्चिमको प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ। खत्रीलाई बिहीबारकै मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको हो। सचिव बढुवा सिफारिस समितिले खत्रीसहित कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम क्रमशः सिफारिस गरेको थियो। पहिलो नम्बरमा रहेका खत्रीलाई सरकारले सचिवमा बढुवा गरेको हो। त्यस्तै, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गरिएको छ। उनको स्थानमा राष्ट्रिय समावेशी आयोगका सचिवका रूपमा कार्यरत बिनोद बहादुर कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। कुँवरलाई ज्येष्ठताका आधारमा हुने २० प्रतिशततर्फबाट सचिव बढुवाका लागि एकल सिफारिस गरिएको थियो। सोही आधारमा बिहीबारकै मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल सरकारको सचिवमा बढुवा गर्दै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको हो। सरकारको निर्णयसँगै सुदूरपश्चिममा अर्यालको स्थानमा खत्री र लुम्बिनीमा काप्रीको स्थानमा कुँवर पुगेका छन्। यससँगै दुवै प्रदेशको प्रशासनिक नेतृत्वमा एकैपटक परिवर्तन भएको छ।

News by सरकारले गर्‍यो दुई सचिवको सरुवा, खत्री र कुँवर प्रदेश प्रमुख सचिवमा :