कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना - Chaitanya News
  • 2026-11-04
  • 09:33:03
  • बुधबार,कार्तिक १९, २०८३
  • कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

    कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ– देशका केही प्रदेशमा आज हल्का वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको हो ।

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । यसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ । ती प्रदेशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

    दिउँसोको समयमा विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।