जलजलामा बाढीपहिरोको कहर : ३१६ घरमा क्षति, जोखिम पहिचान गर्न भूगर्भविद्को टोली परिचालन - Chaitanya News
  • 2026-11-04
  • 09:34:19
  • बुधबार,कार्तिक १९, २०८३
  • जलजलामा बाढीपहिरोको कहर : ३१६ घरमा क्षति, जोखिम पहिचान गर्न भूगर्भविद्को टोली परिचालन

    जलजलामा बाढीपहिरोको कहर : ३१६ घरमा क्षति, जोखिम पहिचान गर्न भूगर्भविद्को टोली परिचालन

    म्याग्दी– बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको पर्वतको जलजला गाउँपालिकामा थप विपद्को जोखिम पहिचान गर्न भौगर्भिक अध्ययन सुरु गरिएको छ । गत असोजमा आएको बाढीपहिरोका कारण यहाँ ३१६ घरमा क्षति पुगेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूगर्भविद्सहितको टोली परिचालन गरेको हो ।

    टोलीले पहिरो प्रभावित तथा जोखिममा रहेका बस्तीको स्थलगत अध्ययन गर्दै पुनः पहिरो जान सक्ने सम्भावना र बस्तीको भौगर्भिक अवस्थाबारे जानकारी संकलन गरिरहेको छ । प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिक सम्मिलित टोलीले मंगलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ क्षेत्रका पहिरोको अध्ययन गरेको थियो ।

    जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यका अनुसार बुधबार केराबारी, पुलचोक र भेडाबारी क्षेत्रका पहिरोको अध्ययन गरिनेछ । गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसपछि प्राधिकरणले भूगर्भविद्को टोली पठाएको उनले बताए ।

    अध्ययन टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, ढुङ्गा तथा माटोका नमुना संकलन र ड्रोन क्यामेरामार्फत तस्बिर तथा श्रव्यदृश्य सामग्री संकलन गरेको छ । साथै, प्रभावित स्थानीयसँग छलफल गरेर जोखिमको अवस्था बुझ्ने काम पनि भइरहेको छ ।

    गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले जलजला गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्रारम्भिक विवरणमा १२६ घर पूर्ण रूपमा र ५० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । थप १४० घर जोखिममा रहेका छन् ।

    विपद्को सबैभन्दा ठूलो मार जलजला गाउँपालिका–८ को फर्से क्षेत्रमा परेको छ । कालीगण्डकी नदीको बाढीले यहाँ ७५ घर बगाएको छ भने अन्य २७ घर जोखिममा छन् । वडा नं ७ का ताङवाङ र खानीगाउँ तथा वडा नं ४ को लामाखेत क्षेत्रसमेत बाढीपहिरोबाट प्रभावित भएका छन् ।

    बाढीपहिरोले निजी आवासमा मात्रै नभई कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती गरिएको खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुर्‍याएको छ । सडक, खानेपानी, सिँचाइ तथा बस्ती संरक्षणका लागि निर्माण गरिएका पूर्वाधारसमेत क्षतिग्रस्त भएका छन् ।

    अध्यक्ष आचार्यका अनुसार पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन् । फर्से क्षेत्रमा घरबार गुमाएका र अन्यत्र बस्ने व्यवस्था गर्न नसक्ने परिवारलाई अस्थायी शिविरमा राखिएको छ ।

    विपद्बाट प्रभावित परिवारका लागि आधारभूत राहत सामग्रीको व्यवस्था गर्नुका साथै अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

    भौगर्भिक अध्ययनबाट प्राप्त प्रतिवेदन र सुझावका आधारमा जोखिमयुक्त बस्तीको व्यवस्थापन तथा पुनर्निर्माणको काम अघि बढाइने उपाध्यक्ष आचार्यले बताए । अध्ययनले कुन क्षेत्र सुरक्षित छ र कुन बस्तीमा थप जोखिम छ भन्ने पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।