कुकुर तिहारको रिल बनाउनेलाई एक लाख पुरस्कार, नोभेम्बर २१ सम्म सहभागी हुन सकिने - Chaitanya News
  • 2026-11-04
  • 09:34:19
  • बुधबार,कार्तिक १९, २०८३
  • कुकुर तिहारको रिल बनाउनेलाई एक लाख पुरस्कार, नोभेम्बर २१ सम्म सहभागी हुन सकिने

    कुकुर तिहारको रिल बनाउनेलाई एक लाख पुरस्कार, नोभेम्बर २१ सम्म सहभागी हुन सकिने

    काठमाडौँ– कुकुर तिहारको सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा उत्कृष्ट भिडियो रिल बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा पहिलोपटक आयोजना गर्न लागिएको यस प्रतियोगिताले नेपाली मौलिक संस्कृति, चाडपर्व र परम्परालाई डिजिटल माध्यमबाट विश्वभर प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रिल तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा सार्वजनिक गर्नुपर्नेछ । तयार पारिएको भिडियो अंग्रेजी भाषामा हुनुपर्नेछ । साथै, भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ ।

    सहभागीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दा नेपाल फेस्टिबल र कुकुर तिहारसम्बन्धी ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । इन्स्टाग्राममा नेपाल टुरिजमलाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    सामाजिक सञ्जालमा प्रकाशित भिडियोसँगै डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिङ्क इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगिताका लागि तयार पारिएका भिडियो सामग्री पूर्ण रूपमा मौलिक हुनुपर्ने बोर्डले जनाएको छ । भिडियो पठाउने अन्तिम मिति नोभेम्बर २१ अर्थात् मङ्सिर ५ गतेसम्म तोकिएको छ ।

    प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट रिल निर्मातालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्राप्त भिडियो सामग्रीलाई पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ ।

    नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गरिन्छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका र माला लगाइदिएर मिठा परिकार खुवाउने परम्परा छ । मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा जीवजन्तुप्रतिको प्रेम र सम्मानलाई यस पर्वले उजागर गर्दै आएको छ ।

    यसअघि पनि पर्यटन बोर्डले नेपाली मौलिक चाडपर्वको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो । मन्त्री पौडेलको निर्देशनमा बडादसैँको अवसरमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा देशभरका १०० स्थानमा लिङ्गे पिङ राखिएको थियो ।

    यसपटकको रिल प्रतियोगितामार्फत नेपाली संस्कृतिलाई आधुनिक प्रविधिसँग जोड्दै अन्तर्राष्ट्रिय दर्शकमाझ नेपालको मौलिक पहिचान पुर्‍याउने बोर्डको अपेक्षा छ । विशेषगरी डिजिटल सामग्री निर्माणमा रुचि राख्ने युवा तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित यस अभियानले सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्ने विश्वास गरिएको छ ।