चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 9 of 1150
  • 2026-11-20
  • 08:57:13
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

विपद्का बेला सेनाको सक्रियता : हजारौँको उद्धार, पुनर्निर्माणमा सहयोग

काठमाडौँ– बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का बेला उद्धारदेखि राहत र पूर्वाधार पुनर्निर्माणसम्म नेपाली सेनाले बहुआयामिक भूमिका निर्वाह गर्दै आएको छ। पछिल्ला विपद्का घटनामा जोखिमपूर्ण उद्धार, स्वास्थ्य सेवा, राहत वितरण तथा अवरुद्ध सडक र पुल सञ्चालनमा सेनाको सक्रियताले राज्यको विपद् प्रतिकार्य क्षमतालाई थप बलियो बनाएको छ। नेपाली सेनाका अनुसार गत भदौमा भोटेकोशीमा आएको बाढी तथा असोजको अविरल वर्षापछि प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा जनशक्ति र स्रोतसाधन परिचालन गरिएको थियो। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिँदै सेनाले स्थल तथा हवाई माध्यमबाट प्रतिकार्य सञ्चालन गरेको थियो। भोटेकोशी बाढीपछिको उद्धारका क्रममा भदौ २४ गतेसम्म चार हजार ८१ जनाको हवाई उद्धार गरिएको थियो। त्यस्तै, जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका तीन जनालाई १० दिनपछि जीवितै उद्धार गर्नु सेनाको महत्त्वपूर्ण उपलब्धि बनेको थियो। उद्धारसँगै सेनाले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पनि उपलब्ध गराएको थियो। परिचालित आपत्कालीन स्वास्थ्य टोलीले तीन हजार ५३५ जनालाई उपचार सेवा प्रदान गरेको थियो। साथै महामारी नियन्त्रणका लागि निर्मलीकरण, मनोसामाजिक परामर्श र राहत सामग्रीको गुणस्तर परीक्षणलगायतका कामसमेत गरिएको सेनाले जनाएको छ। असोजको वर्षापछि पर्वत, बागलुङ, म्याग्दी र मनाङलगायतका जिल्लामा प्रभावित १२७ जनालाई हवाई माध्यमबाट सुरक्षित स्थानमा सारिएको थियो। असोज २५ गते बूढीगण्डकी बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी एक हजार १०६ जनाको हेलिकप्टर र स्थलमार्गबाट उद्धार गरिएको थियो। सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्रीसमेत ढुवानी गरिएको थियो। सेनाको भूमिका उद्धार र राहतमा मात्र सीमित नरही विपद्पछिको पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणमा समेत केन्द्रित रहेको छ। भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक सञ्चालनका लागि तादी खोला र फलाकु खोलामा अस्थायी पुल जडान गरिएको थियो। मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीको बहाव खुलाउन, विद्युत् प्रसारण लाइन सञ्चालन गर्न तथा माथिल्लो मनाङसँगको आवागमन सहज बनाउन अस्थायी पुल निर्माणमा पनि सेनाले सहयोग गरेको थियो। त्यस्तै, बूढीगण्डकी बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान गरी सडक आयोजनालाई हस्तान्तरण गरिएको थियो। नेपाली सेनाले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन विभिन्न सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह, गैरसरकारी संस्था र समुदायबीचको समन्वयलाई समेत प्राथमिकता दिएको जनाएको छ। भोटेकोशी बाढीका बेला त्रिशूलीको मैथिली क्याम्पमा विपद् प्रतिकार्य मुख्यालय र रसुवाको धुन्चेमा अग्रपङ्क्ति कमान्ड केन्द्र स्थापना गरी उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाइएको थियो। प्रतिकूल मौसम र दुर्गम भूगोलका बाबजुद ड्रोनजस्ता प्रविधिको प्रयोगबाट सामग्री ढुवानी तथा उद्धार कार्यलाई सहज बनाइएको सेनाको भनाइ छ। साथै संयुक्त विपद् प्रतिकार्य अभ्यास, पूर्वतयारी र तालिमले विभिन्न निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाएको छ। सेनाका अनुसार जलवायु परिवर्तन, तापक्रम वृद्धि र भौगोलिक अवस्थाका कारण नेपाल बाढी, पहिरो, डुबान, हिमपहिरो तथा भूकम्पजस्ता विपद्को उच्च जोखिममा छ। यस्तो अवस्थामा नागरिकको जीवन रक्षा, राहत, पुनःस्थापना र जोखिम न्यूनीकरणका लागि सेनाले निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताएका छन्। प्राकृतिक विपद् रोक्न नसकिए पनि पूर्वतयारी, समयमै उद्धार र निकायबीचको समन्वयबाट मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने सेनाको निष्कर्ष छ।

News by विपद्का बेला सेनाको सक्रियता : हजारौँको उद्धार, पुनर्निर्माणमा सहयोग :