चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1165
  • 2026-11-27
  • 16:16:02
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

कर्मचारी सरुवामा पुरानै प्रवृत्ति, नयाँ सरकारको सुशासन कहाँ पुग्यो ?

काठमाडौँ– पारदर्शी प्रशासन, जवाफदेही कर्मचारीतन्त्र र सुशासनको प्रतिबद्धता बोकेर आएको सरकारले सरकारी कार्यालयभित्र हुने सरुवा प्रणालीमा सुधार गर्ने अपेक्षा गरिएको थियो। तर कृषि, वन तथा पर्यावरण मन्त्रालयभित्र पछिल्ला गतिविधि हेर्दा कर्मचारी प्रशासनमा पुरानै प्रवृत्तिले निरन्तरता पाएको भन्दै असन्तुष्टि चुलिएको छ। खरिदारदेखि सहसचिवसम्मका सयौँ कर्मचारीको सरुवा तथा पदस्थापन भइसक्दा पनि त्यसको आधिकारिक सूची सार्वजनिक नहुनुले मन्त्रालयको प्रशासनिक पारदर्शितामाथि प्रश्न उठाएको छ। मन्त्रालयले कर्मचारी सरुवा र पदस्थापनका निर्णय भने गरिरहेको छ, तर ती निर्णय सार्वजनिक गर्न किन चाहिरहेको छैन ? कुन कर्मचारीलाई कहाँ पठाइयो, कसलाई कुन आधारमा जिम्मेवारी दिइयो र सरुवाको मापदण्ड के बनाइयो भन्ने सामान्य जानकारीसमेत सार्वजनिक नहुँदा मन्त्रालयभित्र निर्णय प्रक्रियामाथि शंका बढेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारी प्रशासनलाई पारदर्शी बनाउन निरन्तर निगरानी र निर्देशन दिइरहेको अवस्थामा मन्त्रालयभित्रै सरुवाको सूची लुकाइनुले सरकारी प्रतिबद्धता र व्यवहारबीचको अन्तर देखाएको कर्मचारीहरूको गुनासो छ। मन्त्रालयले २०८३ असोज २६ गते खरिदार तहका कर्मचारीको पदस्थापन गरेको थियो। तर त्यसको सूची अहिलेसम्म सार्वजनिक गरिएको छैन। त्यसपछि नायब सुब्बा, शाखा अधिकृत, उपसचिव हुँदै सहसचिव तहसम्मका सयौँ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको मन्त्रालय स्रोतको दाबी छ। पछिल्लो पटक मंसिर ३ गते अधिकृतस्तरका कर्मचारीको सरुवा भए पनि त्यसको विवरण मन्त्रालयको वेबसाइटमा राखिएको छैन। सरुवा तथा पदस्थापन कर्मचारी प्रशासनको नियमित प्रक्रिया हो । यसमा गोप्य राख्नुपर्ने विषयभन्दा सार्वजनिक हुनुपर्ने विवरण बढी हुन्छन्। कुन कर्मचारीलाई कहाँ खटाइयो भन्ने जानकारी सार्वजनिक गर्दा प्रशासनिक जवाफदेहिता बढ्छ । तर मन्त्रालयले निर्णय गर्ने, सम्बन्धित कर्मचारीलाई जानकारी दिने र सार्वजनिक विवरण भने लुकाउने शैली अपनाएको भन्दै प्रश्न उठेको छ। मन्त्रालयका कर्मचारीहरूका अनुसार यसअघि पनि शक्तिकेन्द्रसँग पहुँच भएका कर्मचारीले अवसर पाउने र दुर्गम क्षेत्रमा लामो समय काम गरेका कर्मचारी अवसरबाट वञ्चित हुने प्रवृत्ति थियो। नयाँ सरकार आएपछि कम्तीमा सरुवामा हुने चलखेल रोकिने र अवसरको वितरण निष्पक्ष हुने अपेक्षा गरिएको थियो। तर अहिले पनि पहुँच र निकटताका आधारमा अवसर बाँडिएको उनीहरूको आरोप छ। मन्त्रालयका एक अधिकृतले असन्तुष्टि पोख्दै भने, ‘हिजो शक्तिकेन्द्र नजिक हुने, सिंहदरबारमा धाउने र मन्त्री–सचिवको सचिवालयलाई खुसी पार्नेले अवसर पाउँथे । आज पनि दुर्गममा काम गरेका र अवसरबाट वञ्चित कर्मचारी बेवास्तामै छन्। सरुवामा खुलेआम मोलमोलाई रोकिएको होला, तर आसेपासेलाई च्याप्ने प्रवृत्ति भने निर्णयबाटै देखिन्छ।’ यसअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका झन्डै दुई दर्जन कर्मचारीको सरुवालाई लिएर मन्त्रालयभित्रै असन्तुष्टि र आलोचना भएको थियो। त्यसपछि थप सरुवाका निर्णय सार्वजनिक गर्दा आलोचना बढ्न सक्ने आशंकाले सूची लुकाइएको हुन सक्ने मन्त्रालय स्रोतको दाबी छ । तर यो दाबीको स्वतन्त्र पुष्टि भएको छैन। सरुवाको सूची सार्वजनिक नगर्नुको कारणबारे मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालसँग प्रश्न गर्दा उनले ‘ठ्याक्कै थाहा भएन सर, के भएको रहेछ, म बुझ्छु’ भन्ने जवाफ दिएका छन्। कर्मचारी प्रशासनको नियमित र महत्वपूर्ण निर्णयबारे मन्त्रालयका प्रवक्ताले नै स्पष्ट जानकारी दिन नसक्नुले पनि आन्तरिक सूचना प्रवाह र जवाफदेहितामाथि प्रश्न उठाएको छ। दुई मन्त्रालय गाभिए, संरचना झन् थपिए: कर्मचारी सरुवामा मात्रै होइन, मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण, दरबन्दी मिलान र विभागीय संरचना निर्माणमा समेत विवाद देखिएको छ। तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय गाभिएपछि प्रशासनिक दोहोरोपन हटाउने, खर्च घटाउने र सेवा प्रवाहलाई चुस्त बनाउने अपेक्षा थियो। दुई मन्त्रालयका कर्मचारी, विभाग र कार्यक्षेत्र एकीकृत गरेर सानो तर प्रभावकारी प्रशासनिक संरचना निर्माण गर्नु यसको स्वाभाविक उद्देश्य हुनुपर्ने हो। तर मन्त्रालयभित्र भइरहेको संगठन पुनर्संरचनाले उल्टै नयाँ विभाग र शाखा थप्ने, दरबन्दी विस्तार गर्ने तथा केही पदको सेवा समूह परिवर्तन गर्ने कामलाई प्राथमिकता दिएको भन्दै कर्मचारीहरूले प्रश्न उठाएका छन्। संघीयता कार्यान्वयनका क्रममा २०७५ सालमा वन विभागमा गाभिएको तत्कालीन भूसंरक्षण विभागसँग मिल्दोजुल्दो संरचना पुनः स्थापना गरिएको छ। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति क्रियाशील रहेकै अवस्थामा भूसंरक्षण तथा चुरेसम्बन्धी नयाँ विभागीय संरचना किन आवश्यक पर्‍यो भन्ने प्रश्न उठेको छ। नयाँ विभागको नेतृत्वमा यसअघि मन्त्रालयको सहभागितामूलक वन महाशाखामा कार्यरत डा. रामचन्द्र कँडेललाई पठाइएको छ। तर नयाँ संरचना थप्नुको आवश्यकता, कार्यक्षेत्र र विद्यमान निकायसँगको जिम्मेवारी विभाजनबारे स्पष्ट जवाफ आउन नसकेको कर्मचारीहरूको गुनासो छ। मन्त्रालय गाभिँदा प्रशासनिक संरचना घटाउनुपर्ने कि थप्नुपर्ने ? एउटै प्रकृतिका काम गर्ने निकायहरूबीच समन्वय कसरी गर्ने ? नयाँ विभागले कुन काममा थप प्रभावकारिता ल्याउँछ ? यस्ता प्रश्नको स्पष्ट जवाफबिना संरचना विस्तार गरिँदा पुनर्संरचनाको उद्देश्य नै कमजोर हुने कर्मचारीहरूको तर्क छ।  एउटै कामका लागि चार–पाँच शाखा, औचित्य कहाँ ? वातावरणीय प्रभाव अध्ययनसम्बन्धी कामका लागि प्रदेशगत आधारमा शाखा विस्तार गरिएको विषयले पनि मन्त्रालयभित्र प्रश्न जन्माएको छ। मन्त्रालय स्रोतका अनुसार यसअघि एउटै शाखाबाट हुँदै आएको वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिसम्बन्धी कामलाई अहिले चारदेखि पाँचवटा शाखामा विभाजन गरिएको छ । जबकि वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिसम्बन्धी कतिपय अधिकार प्रदेश र स्थानीय तहमा समेत हस्तान्तरण भइसकेका छन्। यस्तो अवस्थामा संघीय मन्त्रालयभित्र थप शाखा विस्तार गर्नुपर्ने आवश्यकता के हो भन्ने प्रश्न कर्मचारीहरूले उठाएका छन्। कामको चाप, जिम्मेवारी र कार्यसम्पादनको वास्तविक अवस्थाका आधारमा शाखा विस्तार गरिएको हो भने त्यसको औचित्य सार्वजनिक हुनुपर्ने उनीहरूको माग छ। अधिकार तल्ला तहमा हस्तान्तरण हुँदै जाने तर संघीय मन्त्रालयमा शाखा र दरबन्दी थपिँदै जाने प्रवृत्तिले प्रशासनिक खर्च र संरचनाको प्रभावकारितामाथि प्रश्न उठाएको छ। महानिर्देशकको कुर्सीमा सेवा समूह परिवर्तन, कसलाई के आधारमा जिम्मेवारी ? वातावरण विभागको महानिर्देशक पदको सेवा समूह परिवर्तनले पनि मन्त्रालयभित्र अर्को विवाद सिर्जना गरेको छ। यसअघि प्रशासन सेवातर्फ रहेको राजपत्राङ्कित प्रथम श्रेणीको महानिर्देशक पदलाई पछिल्लो संगठन पुनर्संरचनामा इन्जिनियरिङ सेवाअन्तर्गत केमिस्ट्री समूहमा राखिएको छ। त्यसपछि वनस्पति विभागबाट सरोजकुमार चौधरीलाई वातावरण विभागको नेतृत्वमा ल्याइएको छ। प्रशासन सेवाको दरबन्दी हटाएर निश्चित प्राविधिक समूहका कर्मचारीले मात्रै नेतृत्व गर्न पाउने व्यवस्था गर्नुको संस्थागत आधार के हो भन्ने प्रश्न कर्मचारीहरूले उठाएका छन्। वातावरण विभागको नेतृत्वका लागि आवश्यक प्रशासनिक क्षमता, व्यवस्थापकीय अनुभव र विषयगत दक्षतालाई कसरी मूल्यांकन गरियो भन्ने विषय पनि स्पष्ट हुनुपर्ने उनीहरूको माग छ। यस विषयमा मन्त्री गीता चौधरीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रशासनिक प्रक्रियाबाटै टुंगिने भएकाले आफ्नो खासै भूमिका नरहने बताएकी छन्। तर महानिर्देशक पदमा सेवा समूह परिवर्तन गरिएको विषयमा भने सम्बन्धित सेवा समूहका कर्मचारीको वृत्तिविकासलाई न्याय हुने गरी व्यवस्था गरिएको उनको भनाइ छ। मन्त्रालयको संरचना र दरबन्दी निर्धारण प्रशासनिक प्रक्रिया भए पनि त्यसले दीर्घकालीन रूपमा कर्मचारीको वृत्तिविकास, नेतृत्व चयन र संस्थागत कार्यसम्पादनमा पार्ने प्रभावबारे प्रश्न उठ्नु स्वाभाविक हो।  विभागीय नेतृत्व फेरियो, आधार सार्वजनिक भएन: वन विभागको महानिर्देशकमा नवराज पुडासैनीलाई जिम्मेवारी दिइनुका साथै मातहतका विभिन्न विभागमा उच्चपदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ। नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत नेतृत्व परिवर्तन हुन सक्ने भए पनि त्यसको आधार, आवश्यकता र सम्बन्धित कर्मचारीको अनुभव तथा विशेषज्ञताबारे स्पष्टता हुनुपर्ने कर्मचारीहरूको माग छ। संगठन पुनर्संरचना र कर्मचारी व्यवस्थापनमा मन्त्रीको सचिवालय तथा केही उच्चपदस्थ कर्मचारीको प्रभाव रहेको आशंका मन्त्रालय स्रोतले व्यक्त गरेको छ। स्रोतले मन्त्रीको सचिवालयसँग सम्बन्धित शिवशंकर चौधरीको भूमिकामाथि समेत प्रश्न उठाएको छ। यद्यपि यससम्बन्धी आरोपको स्वतन्त्र पुष्टि भएको छैन। कर्मचारी व्यवस्थापनमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच जिम्मेवारीको स्पष्ट सीमा हुनुपर्ने हो । तर सरुवा, पदस्थापन र विभागीय नेतृत्व परिवर्तनका निर्णयमा कसको भूमिका कति रह्यो भन्ने विवरण सार्वजनिक नहुँदा मन्त्रालयभित्र शंका र असन्तुष्टि बढेको देखिन्छ।  एउटै सचिवको काँधमा दुई मन्त्रालयको भार: मन्त्रालयभित्रको असन्तुष्टि राजनीतिक नेतृत्व र कर्मचारी सरुवामा मात्र सीमित छैन । सचिव डा. राजेन्द्रप्रसाद मिश्रको प्रशासनिक नेतृत्व तथा समन्वय क्षमतामाथि पनि मन्त्रालयकै उच्च अधिकारीहरूले प्रश्न उठाएका छन्। तत्कालीन दुई मन्त्रालय छुट्टाछुट्टै हुँदा तीन जना सचिवले सम्हाल्दै आएको कार्यक्षेत्र अहिले एउटै मन्त्रालय र एक जना सचिवको जिम्मेवारीमा आएको छ। मन्त्रालयको आकार, कार्यक्षेत्र र जिम्मेवारी बढे पनि त्यसअनुसार प्रशासनिक व्यवस्थापन र समन्वयको क्षमता पर्याप्त हुन नसकेको एक सहसचिवको भनाइ छ। उनका अनुसार विस्तारित मन्त्रालयमा कर्मचारी व्यवस्थापनदेखि कार्यक्रम कार्यान्वयन र सेवा प्रवाहसम्म अपेक्षित चुस्तता आउन सकेको छैन। बढेको कार्यबोझअनुसार प्रशासनिक नेतृत्व, आन्तरिक समन्वय र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन नसकिएको उनको दाबी छ। यद्यपि मन्त्रालयको कार्यसम्पादनमा देखिएका समस्यालाई सचिवको व्यक्तिगत क्षमतासँग मात्रै जोडेर हेर्नुभन्दा बढेको कार्यक्षेत्र, उपलब्ध जनशक्ति, संरचना र निर्णय प्रक्रियाको समग्र समीक्षा आवश्यक देखिन्छ। सुशासनको नारा मन्त्रालयको ढोकाभित्रै किन कमजोर ? जेनजी आन्दोलनपछि बनेको सरकारले सार्वजनिक प्रशासनमा पारदर्शिता, जवाफदेहिता र कार्यक्षमताको विषयलाई प्राथमिकतामा राखेको छ। कर्मचारीको कार्यसम्पादन, जिम्मेवारी र सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता पनि सरकारको छ। तर आफ्नै मन्त्रालयभित्र हुने सरुवा, पदस्थापन, दरबन्दी परिवर्तन र विभागीय जिम्मेवारी बाँडफाँटमा पारदर्शिताको प्रश्न उठिरहँदा सुशासनको प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन भइरहेको छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। सरुवा सूची सार्वजनिक गर्नु कुनै ठूलो प्रशासनिक सुधार होइन। तर यसले निर्णय प्रक्रियालाई नागरिक र कर्मचारी दुवैप्रति जवाफदेही बनाउँछ। कुन कर्मचारीलाई कहाँ खटाइयो, किन खटाइयो र कुन मापदण्ड अपनाइयो भन्ने जानकारी सार्वजनिक हुनु सामान्य प्रशासनिक अभ्यास हुनुपर्ने हो । त्यस्तै, दुई मन्त्रालय गाभेर बनाइएको संरचनामा नयाँ विभाग, शाखा र दरबन्दी थप्नुको औचित्य पनि तथ्य र कार्यबोझका आधारमा पुष्टि हुनुपर्छ। राज्यको खर्चमा चल्ने प्रशासनिक संरचना कसैको वृत्तिविकास वा पहुँच व्यवस्थापनको माध्यम बन्नु हुँदैन। कृषि, वन तथा पर्यावरण मन्त्रालयभित्र अहिले उठिरहेका प्रश्नको केन्द्रमा तीनवटा विषय छन्, कर्मचारी सरुवाको पारदर्शिता, संगठन पुनर्संरचनाको औचित्य र प्रशासनिक नेतृत्वको जवाफदेहिता। सरकारले सुशासनको परीक्षा अरू मन्त्रालय र निकायबाट मात्रै होइन, आफ्नै मन्त्रालयभित्रका यस्ता निर्णयबाट पनि दिनुपर्ने हुन्छ। नत्र पुरानो कार्यशैली अन्त्य गर्ने घोषणासँगै पुरानै प्रवृत्तिले नयाँ आवरणमा निरन्तरता पाएको आरोपबाट सरकार उम्किन कठिन हुनेछ।

News by कर्मचारी सरुवामा पुरानै प्रवृत्ति, नयाँ सरकारको सुशासन कहाँ पुग्यो ? :