चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1160
  • 2026-11-25
  • 15:06:32
  • बुधबार,मंसिर १०, २०८३

About Author

लैंगिक हिंसा अन्त्य गर्न १६ दिने अभियान वर्षभरि चलाउन मुख्यमन्त्री आचार्यको आह्वान

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा अन्त्यका लागि १६ दिने अभियानलाई निश्चित अवधिमा मात्र सीमित नराखी वर्षभरि सामाजिक जागरण र प्रतिरोधको अभियानका रूपमा अघि बढाउन आह्वान गरेका छन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान (मंसिर ९ देखि २४ गतेसम्म) का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हिंसामुक्त समाज निर्माणका लागि कानुनी व्यवस्था र संस्थागत प्रयाससँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा परिवर्तन आउनुपर्ने बताएका हुन्। मुख्यमन्त्री आचार्यले लैंगिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लंघन, सामाजिक न्यायको बाधक तथा समतामूलक समाज निर्माणको चुनौतीका रूपमा व्याख्या गरेका छन्। महिला, बालबालिका तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायमाथि हुने हिंसा, विभेद, शोषण र दुर्व्यवहार अन्त्य गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको उनको भनाइ छ। उनले लैंगिक समानता, सामाजिक न्याय, समावेशिता तथा महिला सशक्तीकरणलाई प्रदेश सरकारले शासन, नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आएको पनि उल्लेख गरेका छन्। महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, सीप विकास, आत्मनिर्भरता र निर्णय प्रक्रियामा सहभागिता बढाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताएका छन्। साथै हिंसा प्रभावित व्यक्तिको संरक्षण, न्यायमा पहुँच र पुनःस्थापनाका लागि समेत प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ छ। लैंगिक उत्तरदायी शासन प्रणालीको विकास, सामाजिक विभेद न्यूनीकरण र सबै नागरिकलाई समान अवसर सुनिश्चित गर्न संघीय सरकार, स्थानीय तह, नागरिक समाज तथा सरोकारवाला संस्थासँग सहकार्य भइरहेको मुख्यमन्त्री आचार्यले बताएका छन्। हिंसा प्रभावित व्यक्तिहरूलाई सुरक्षित वातावरण, आवश्यक परामर्श, संरक्षण, न्याय र पुनःस्थापनाको पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। हिंसा रोकथाम, पीडितमैत्री सेवा प्रवाह र सामाजिक चेतना अभिवृद्धिका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उनले बताएका छन्। मुख्यमन्त्री आचार्यले १६ दिने अभियानलाई प्रभावकारी बनाउन राजनीतिक दल, सरकारी निकाय, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था, समुदाय तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन्। समानता, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्दै हिंसामुक्त, सुरक्षित र समान अवसरयुक्त समृद्ध लुम्बिनी प्रदेश बनाउन सरकार दृढ प्रतिबद्ध रहेको उनले सन्देशमा उल्लेख गरेका छन्।

News by लैंगिक हिंसा अन्त्य गर्न १६ दिने अभियान वर्षभरि चलाउन मुख्यमन्त्री आचार्यको आह्वान :