चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 11 of 1101
  • 2026-10-05
  • 12:11:22
  • सोमबार,आश्विन १९, २०८३

About Author

श्रीलंकासँगको खेल वर्षाले रद्द, वरियताका आधारमा नेपाल बाहिरियो

काठमाडौँ– जापानमा जारी बीऔँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालको सेमिफाइनल यात्रा वर्षाका कारण रोकिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कमा आज तय भएको क्वार्टरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । लगातार वर्षा भएपछि नेपाल र श्रीलंकाबीचको खेलमा टससमेत हुन सकेन । मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिताको नियमअनुसार वर्षाका कारण खेल सञ्चालन हुन नसकेको अवस्थामा ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा माथि रहेको टोलीलाई विजेता मानिने प्रावधान छ । यही नियमका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । हालको ट्वान्टी–२० विश्व वरियतामा श्रीलंका नवौँ तथा नेपाल १४औँ स्थानमा रहेका छन् । नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेकाले एसियाली खेलकुदअन्तर्गतका क्रिकेट खेल प्रभावित हुँदै आएका छन् । वर्षाकै कारण शनिबार नेपाल र जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जापानसँग अंक बाँड्नुपरे पनि नेपाल समूहबाट क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । तर, श्रीलंकाविरुद्धको निर्णायक खेल नै वर्षाका कारण रद्द भएपछि नेपालको सेमिफाइनल पुग्ने प्रयास अधुरै रह्यो ।

News by श्रीलंकासँगको खेल वर्षाले रद्द, वरियताका आधारमा नेपाल बाहिरियो :