श्रीलंकासँगको खेल वर्षाले रद्द, वरियताका आधारमा नेपाल बाहिरियो - Chaitanya News
  • 2026-09-29
  • 09:32:55
  • मंगलबार,आश्विन १३, २०८३
  • श्रीलंकासँगको खेल वर्षाले रद्द, वरियताका आधारमा नेपाल बाहिरियो

    श्रीलंकासँगको खेल वर्षाले रद्द, वरियताका आधारमा नेपाल बाहिरियो

    काठमाडौँ– जापानमा जारी बीऔँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालको सेमिफाइनल यात्रा वर्षाका कारण रोकिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कमा आज तय भएको क्वार्टरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

    लगातार वर्षा भएपछि नेपाल र श्रीलंकाबीचको खेलमा टससमेत हुन सकेन । मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

    प्रतियोगिताको नियमअनुसार वर्षाका कारण खेल सञ्चालन हुन नसकेको अवस्थामा ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा माथि रहेको टोलीलाई विजेता मानिने प्रावधान छ । यही नियमका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

    हालको ट्वान्टी–२० विश्व वरियतामा श्रीलंका नवौँ तथा नेपाल १४औँ स्थानमा रहेका छन् ।

    नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेकाले एसियाली खेलकुदअन्तर्गतका क्रिकेट खेल प्रभावित हुँदै आएका छन् । वर्षाकै कारण शनिबार नेपाल र जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो ।

    नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जापानसँग अंक बाँड्नुपरे पनि नेपाल समूहबाट क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । तर, श्रीलंकाविरुद्धको निर्णायक खेल नै वर्षाका कारण रद्द भएपछि नेपालको सेमिफाइनल पुग्ने प्रयास अधुरै रह्यो ।