धनगढी: चैतन्य स्पोर्ट्स एकेडेमी, धनगढीको आयोजनामा चैतन्य पाठशाला अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै यही २०८३ असोज २४ र २५ गते चैतन्य पाठशालाको फुटसल कोर्टमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको हो।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा दर्ता भई सञ्चालनमा रहेको चैतन्य स्पोर्ट्स एकेडेमीले शिक्षक तथा शिक्षाकर्मीलाई कक्षाकोठाभन्दा बाहिर खेलमैदानमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो।
‘कक्षाकोठादेखि खेलमैदानसम्म : सिकाउने, खेल्ने र प्रेरणा दिने शिक्षकहरू’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताले शिक्षक तथा शिक्षाकर्मीबीच खेलभावनाको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन, विभिन्न विद्यालय तथा शैक्षिक संस्थाबीच व्यावसायिक सम्बन्ध सुदृढीकरण र सामूहिक कार्यभावनाको विकासमा योगदान पुर्याउने विश्वासका साथ प्रतियोगिता गर्न लागिएको हो।
कक्षाकोठामा सिकाइने अनुशासन, सहकार्य, सम्मान र सिकाइका मूल्यहरू खेलमैदानमा समेत व्यवहारमा उतार्न सकिने भएकाले शिक्षकहरूबीच आपसी सद्भाव, मित्रता र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित च्याम्पियनसिप ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई नगद २५ हजार रुपैयाँ, ट्रफी, रजत पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा सहभागी हुने टोलीले ७ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। टोली दर्ता असोज २१ गतेभित्र गरिसक्नुपर्नेछ।
प्रतियोगितामा सहभागी खेलाडी सम्बन्धित विद्यालयका शिक्षक भएको प्रमाणित गर्न विद्यालय परिचयपत्र (आइडी कार्ड) को प्रतिलिपि तथा पछिल्लो तीन महिनाको तलब भुक्तानी विवरण को प्रतिलिपि दर्ता फारामसँगै पेस गर्नुपर्नेछ।
प्रतियोगिता आयोजकले निमन्त्रणा गरेका विद्यालयहरूका लागि मात्र खुला हुनेछ। प्रतियोगितामा पूर्णकालीन रूपमा नियुक्त शिक्षकहरू सहभागी हुन योग्य हुनेछन् भने प्रत्येक टोलीमा बढीमा दुई जना आंशिककालीन कर्मचारी सहभागी हुन पाउनेछन्।
कुनै खेलाडीको योग्यता सम्बन्धमा उजुरी परेमा सम्बन्धित विद्यालयले आयोजकसमक्ष थप आधिकारिक तथा प्रमाणित कागजात पेस गर्नुपर्नेछ। अयोग्य खेलाडी सहभागी गराएको प्रमाणित भएमा सम्बन्धित टोलीलाई प्रतियोगिताबाट स्वतः अयोग्य घोषित गरिनेछ।
प्रत्येक टोलीमा बढीमा १० जना र न्यूनतम ७ जना खेलाडी रहनेछन्। खेलका क्रममा गोलरक्षकसहित ६ जना खेलाडी मैदानमा रहनेछन्।
फिफा फुटसलका नियमअनुसार खेलाडी परिवर्तन गर्न कुनै सीमा रहने छैन।
प्रतियोगिता लिग तथा नकआउट प्रणालीको मिश्रित ढाँचामा सञ्चालन हुनेछ। खेल तालिका आधिकारिक गोलाप्रथाबाट निर्धारण गरिनेछ। खेल तालिकासम्बन्धी आयोजक समितिको निर्णय अन्तिम तथा मान्य हुनेछ।
लिग चरण र सेमिफाइनलका खेलमा प्रत्येक हाफ १० मिनेटको हुनेछ भने हाफबीच २ मिनेटको विश्राम हुनेछ। फाइनल खेलमा प्रत्येक हाफ १५ मिनेटको हुनेछ र हाफबीच ५ मिनेटको विश्राम रहनेछ।
नकआउट चरणको खेल निर्धारित समयमा बराबरी भएमा प्रत्येक टोलीले तीन–तीन पेनाल्टी प्रहार गर्नेछ। त्यसबाट समेत विजेता निर्धारण हुन नसके सडन डेथ पेनाल्टीबाट विजेता छनोट गरिने चैतन्य पाठशालाका निर्देशक कटकबहादुर सिंहले जानकारी दिए। खेलमा फिफा फुटसलका नियम लागू हुने उनले बताए।
सहभागी टोलीले उपयुक्त खेल पोसाक तथा मैदानमा दाग नछोड्ने फुटसल जुत्ता अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। दुवै टोलीको पोसाकको रङ समान वा मिल्दोजुल्दो भएमा आयोजकले बिब्स उपलब्ध गराउने बताएको छ।
खेलमा रातो कार्ड पाउने खेलाडीले आफ्नो टोलीको अर्को खेल स्वतः गुमाउनेछ। आवश्यक परेको अवस्थामा थप अनुशासनात्मक कारबाही गर्ने अधिकार आयोजक समितिमा सुरक्षित रहने बताइएको छ।
चैतन्य स्पोर्ट्स एकेडेमी तथा चैतन्य पाठशालाले प्रतियोगितामा सहभागी भई शिक्षकबीचको आपसी सम्बन्ध, मित्रता, सहकार्य र खेलभावनालाई थप मजबुत बनाउन सबै आमन्त्रित विद्यालयलाई आग्रह गरेको छ।