बाढीपहिरोले १ हजार २९२ मेगावाटका आयोजना प्रभावित, अधिकांश संरचना पुनः सञ्चालनमा - Chaitanya News
  • 2026-09-28
  • 16:36:53
  • सोमबार,आश्विन १२, २०८३
  • बाढीपहिरोले १ हजार २९२ मेगावाटका आयोजना प्रभावित, अधिकांश संरचना पुनः सञ्चालनमा

    बाढीपहिरोले १ हजार २९२ मेगावाटका आयोजना प्रभावित, अधिकांश संरचना पुनः सञ्चालनमा

    काठमाडौँ– असोज ९ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुर्‍याए पनि प्रभावित आयोजनाहरू क्रमशः सञ्चालनमा आउन थालेका छन्।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार कुश्मा–दाना, त्रिशूली, मर्स्याङ्दी, सेती–मादी, कालीगण्डकी र समुद्रटारलगायत क्षेत्रमा गरी कुल १ हजार २९२ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्।

    कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेपछि सात वटा जलविद्युत् केन्द्रबाट उत्पादित करिब १९० मेगावाट विद्युत् प्रसारण अवरुद्ध भएको थियो। सडक अवरुद्ध रहेकाले प्रसारण लाइनको विस्तृत निरीक्षण तथा मर्मतमा कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ।

    यस्तै, प्राधिकरणको सहायक कम्पनीद्वारा प्रवर्द्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट, डक्ट र टर्बाइन फ्लोरमा बाढीको पानी पसेको छ। क्षतिग्रस्त संरचना मर्मत गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ।

    यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट माथिल्लो त्रिशूली–३ बीको २२० केभी हबसहित विभिन्न आयोजनामा क्षति पुगेको थियो। त्यस घटनापछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको थियो भने प्राधिकरण तथा उसका सहायक कम्पनीको करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

    तर, पछिल्लो बाढीपहिरोपछि अवरुद्ध भएका आयोजनाहरूको पुनः सञ्चालनमा पनि प्रगति भएको छ। सेती–मादी करिडोरको २६२ मेगावाट र मर्स्याङ्दी करिडोरको १९० मेगावाट क्षमताका आयोजना पुनः सञ्चालनमा आइसकेका छन्। १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ पनि आज साँझसम्म सञ्चालनमा ल्याउने तयारी छ।

    वितरण प्रणालीतर्फ पनि प्रभावित क्षेत्रको विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ। म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत् आपूर्ति सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म तथा मनाङमा भोलिसम्म विद्युत् सञ्चालन गर्ने गरी प्राविधिक टोली परिचालन गरिएको छ।

    बाढीपहिरोबाट विद्युत् संरचनामा क्षति पुगे पनि प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापनको योजना अघि सारेको छ। प्राधिकरणका अनुसार सुक्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुनेछ।

    त्यसमा ढल्केवर–मुजफ्फरपुर, टनकपुर, बिहारका विभिन्न बिन्दु तथा आरटीसीमार्फत १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ। आन्तरिक उत्पादन र आयात गरी कुल २ हजार ३७२ मेगावाट विद्युत् उपलब्ध हुने प्रक्षेपण गरिएको छ। यो परिमाणले सुक्खायाममा अनुमान गरिएको २ हजार २९२ मेगावाटको उच्च माग धान्ने प्राधिकरणको आकलन छ।