काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको लोकतान्त्रिक संस्कृति र संगठनात्मक अभ्यास सुधारका लागि १५ वटा संकल्प प्रस्ताव गर्ने भएका छन्।
‘लोकतान्त्रिक संस्कृतिमा क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकको प्रतिवेदनमा शर्माले व्यक्ति केन्द्रित राजनीति, स्थायी गुटबन्दी, नेतृत्व दोहोरिने प्रवृत्ति र अपारदर्शितालाई सुधार गर्नुपर्ने विषय उठाएका छन्।
प्रतिवेदनमा कांग्रेसले एउटै व्यक्तिको प्रभावका आधारमा पटक–पटक पद दोहोरिने प्रवृत्ति अन्त्य गर्ने तथा स्थायी गुटलाई संगठनको आधार नबनाउने प्रतिबद्धता जनाएको छ। त्यस्तै, विचार र सिद्धान्तलाई अवसरअनुसार परिवर्तन नगर्ने तथा पहुँच र प्रभावका आधारमा उम्मेदवारीलाई प्राथमिकता नदिने संकल्प प्रस्ताव गरिएको छ।
कांग्रेसले पार्टी नेतृत्व, सदस्य र समितिको अपारदर्शिता स्वीकार नगर्ने, नागरिक जनादेशलाई अहंकारमा परिणत नगर्ने तथा चुनावी घोषणापत्रलाई कार्यान्वयन नगरी बिर्सिने दस्तावेजका रूपमा सीमित नगर्ने उल्लेख गरेको छ।
शर्माको प्रतिवेदनमा कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति अस्वीकार गर्ने र सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने विषय पनि समेटिएको छ।
त्यसैगरी, सामाजिक सञ्जाललाई आन्तरिक विवादको थलो नबनाउने, योग्य युवालाई उमेरकै कारण नेतृत्वबाट टाढा नराख्ने र समावेशितालाई संख्यामा मात्र सीमित नगर्ने प्रतिबद्धता जनाइएको छ।
योगदानको सम्मान गर्ने तर त्यसलाई मात्रै योग्यताको आधार नबनाउने तथा क्षणिक स्वार्थभन्दा संस्था, विचार र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिने विषय पनि १५ संकल्पमा समेटिएका छन्।
शर्माले अघि सारेका यी संकल्पमार्फत कांग्रेसभित्र देखिएका व्यक्ति केन्द्रित राजनीति, गुटबन्दी, नेतृत्व हस्तान्तरण, पारदर्शिता, राजनीतिक संरक्षण र युवाको नेतृत्वमा पहुँचजस्ता विषयलाई सुधारको एजेन्डाका रूपमा प्रस्तुत गरिएको छ।