हेटौँडा– बागमती प्रदेश सरकारले उद्योग–व्यवसायमा करको भार बढाउनेभन्दा करको दायरा विस्तार गर्ने नीति लिने भएको छ । प्रदेशका मुख्यमन्त्री किरण थापामगरले उद्योगको संरक्षण, लगानी सुरक्षा र नयाँ उद्योग स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौँडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री थापामगरले सञ्चालनमा रहेका उद्योगलाई व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधार, बजेट तथा नीतिगत सहजीकरण गर्ने बताए ।
हेटौँडा औद्योगिक क्षेत्रमा केही उद्योग बन्द हुने अवस्थामा पुगेको र केही उद्योग कच्चापदार्थको अभावलगायत समस्याबाट प्रभावित भएको उल्लेख गर्दै उनले सञ्चालन गर्न सकिने रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक नीति निर्माण गरिने बताए ।
“प्रदेश सरकार करको दर बढाउनेभन्दा करको दायरा बढाउनेतर्फ लाग्नेछ,” उनले भने, “उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँग समन्वय र सहकार्य गरिनेछ ।”
मुख्यमन्त्री थापामगरले नयाँ उद्योग स्थापनालाई प्राथमिकता दिँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । कानुनी प्रक्रिया पूरा गरेर स्थापना भएका उद्योगलाई विभिन्न कारणले अवरोध गर्दा व्यवसायी निरुत्साहित हुने भएकाले लगानीको सुरक्षालाई सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।
उनले प्रदेशभित्र उद्योग सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उद्योगको संरक्षणसँगै लगानीकर्ताको विश्वास कायम गर्न नीतिगत तथा व्यावहारिक समस्या समाधानमा प्रदेश सरकारले सहजीकरण गर्ने उनले बताए ।
मुख्यमन्त्री थापामगरले हालैको विपद्का कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक सडक सञ्चालनका लागि प्रदेश सरकारले पहल गरेको जानकारी दिए । विपद्बाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका काममा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनले बताए ।