चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 436 of 1152
  • 2026-11-21
  • 20:37:42
  • शनिबार,मंसिर ०६, २०८३

About Author

मूल्यको प्रतिक्षामा बोटमै जुनार, किसानलाई चुनावभन्दा चिन्ता बजारको

यतिबेला देश चुनावी माहौलले तातिएको छ। तर किसानलाई भने जुनारको चिन्ता छ। रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् । विगतको तुलनामा यस वर्ष जुनार उत्पादनमा केही कमी आएको छ । तर, उत्पादनमा कमी आएपनि बेमौसममा बिक्री गर्दा राम्रो मूल्य आउने आशामा किसानहरू छन् । हामिले अझै जुनार र सुन्तला बोटमै राखेका छौं। मुख्य गरी मङ्सिरदेखि माघको पहिलो हप्ताभित्र जुनार टिपिसक्ने मौसम हो, तर अहिले सम्म पनि हाम्रो जुनार र सुन्तला बिक्री हुन सकेको छैन् एक किसानले बोझिलो मन गर्दै भने । उनका अनुसार जुनार कृषकले जुनार बिक्री गरिसके पनि ओख्रेनीका अधिकांश किसानले राम्रो मूल्य पाइन्छ कि भन्ने आशामा बगैँचामै राखेका हुन्। करिब पाँच सय बोटमा फलेको आफ्नो बगैँचाको जुनार राम्रो भाउ पाएपछि बिक्री गर्नेआसामा अहिलेसम्म नटिपेको स्थानीय जुनार कृषक हिमाल तामाङले बताउँछन्। उनले भने, “हामीलाई अहिले चुनावको रौनकभन्दा बोटैमा पाकेको जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्ताले सताएको छ।” यस्तै स्थानीय कृषक दिलमाया तामाङको पिडा पनि उस्तै छ । यस वर्ष गत असोज र कात्तिकमा परेको लगातारको वर्षाका कारण उत्पादनमा केही गिरावट आयो, गत मङ्सिर पुसतिर बगैँचाबाट बिक्री गर्दा ५० रुपैयाँ किलो मात्र पाएकोमा अब बेच्दा भने जुनार दानाको आकार हेरेर ६० देखि ९० रुपैयाँ प्रतिकिलो बिक्री हुने आसामा उनले पनि जुनार अहिलेसम्म बोटमै राखेकी छन् । उनि भनिन्, “आफूले जति पछि बेच्यो त्यति बढी पैसा आउने आशाले अहिलेसम्म पनि जुनार बोटमै राखेका छौँ, तर अब प्रतिकिलो ६०–७० मा बिक्री गर्ने तयारी छ।” जुनारले बिरुवा रोपेको दुईदेखि तीन वर्षदेखि उत्पादन दिन सुरु गर्छ। जुनार बगैँचाभित्र भटमास, लसुन, प्याज, काउली, बन्दालगायतका कोसे तथा तरकारीबालीहरु पनि लगाएका कृषकले दोहोरो आम्दानी लिने गरेका छन्। आफूले पनि सिजन अफ भएपछि बिक्री गर्दा राम्रो मूल्य पाइने आशामा जुनार बिक्री नगरेको अर्का कृषक गिरीराज तामाङले बताए। जुनारबाट जाम, जुस र अन्य पेय पदार्थसमेत बनाएर बिक्री गर्ने गरिएको छ। जुनारको बजारको समस्या भने खासै नभएको रामेछाप नगरपालिका–७ सुकाजोरका कृषक रामकुमार कार्कीको भनाइ छ। बेमौसममा मूल्य पाइनु स्वाभाविक भए पनि माघ महिनाको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म जुनार फुल्ने भएकाले मूल्य आउने आशामा बोटमै राख्न राम्रो नहुने जुनार जोन समन्वय समितिका प्राविधिक बताउँछन्। जुनारमा फूल फुल्ने बेलासम्म बोटमै जुनार राख्दा अर्को वर्षका लागि फुल्ने फूललाई असर गर्ने भएकाले समयमै टिपेर बरु चिस्यान घरमा राखेर बिक्री गर्दा कृषकहरूलाई फाइदा हुने जुनार जोन समन्वय समितिका अध्यक्ष गुञ्जबहाहुर कार्कीको सुझाव छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछापले भने मन्थली, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकालाई जुनार जोनका रूपमा विकास गर्न विभिन्न कार्यक्रमहरू कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जिल्लामा गत आर्थिक वर्ष २०८१–८२ मा ५८० हेक्टरमा जुनार खेती भएकामा चालु आवमा रामेछाप, मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकासहित ६८० हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रामेछापकी नायब प्राविधिक सहायक भवानी बस्नेतले जानकारी दिए। उनले भने, “प्राविधिक हिसाबले माघ फागुनसम्म जुनार बोटमा राख्नु राम्रो हैन।” हरेक जुनार उत्पादन हुने टोलमा शीत भण्डारको व्यवस्था गरी सिजनमा त्यहाँ राख्ने र बेमौसममा जुनार बिक्री गर्ने व्यवस्था मिलाउन सकेमा कृषकहरूलाई फाइदा पुग्ने स्थानीय लोकेन्द्र श्रेष्ठ बताउँछन्।

News by मूल्यको प्रतिक्षामा बोटमै जुनार, किसानलाई चुनावभन्दा चिन्ता बजारको :