काठमाडौं– साताको पहिलो दिन आज (आइतबार) सेयर बजार (नेप्से) सूचक २० अंकले घटेको छ। गत साता (बिहीबार) १७ अंक घटेको नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसूचक आज करिब २० अंक घटेको हो ।
आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो। धितोपत्र बजारमा सूचीकृत कम्पनीहरू अधिकांशले गत आर्थिक वर्ष आम्दानीबाट सेयरधनीलाइ लाभांश वितरण गरिसकेको अवस्था छ।
त्यसले गर्दा पनि सेयर लगानीकर्ताले प्रतिफलका लागि धेरै समय पर्खनुपर्ने भएकाले पनि बजारमा नकारात्मक असर गरेको हो। साथै, आगामी २१ फागुनमा हुने निर्वाचनका लागि खर्च जोहो गर्न सेयर बिक्री दबाबले पनि बजार घटेको विश्लेषण लगानीकर्ताको छ।
आइतबार कारोबार सुरु हुँदा २७१४.०५ अंकमा रहेको नेप्से १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेको छ।
आइतबार नेप्सेमा कारोबार भएकामध्ये २ सय १ कम्पनीको सेयर मूल्य घटेको छ। त्यसैगरी ५० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेन।
नेप्सेमा मिथिला लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको १९ प्रतिशत घटेको छ।
आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.८७, विकास बैंक ४३.५४, वित्त ११.३०, लगानी १.०२, जीवन बीमा ६८.३०, लघुवित्त २८.४०, निर्जीवन बीमा ७०.५२, अन्य २१.८९, होटल १३२.३०, जलविद्युत् ४९.१७, उत्पादनमूलक ७१.०५ र सामूहिक लगानी कोष ०.१० अंकले घटेका छन्। आइतबार व्यापार समूह मात्रै २०.९२ अंक बढेको नेप्सेले जनाएको छ।
आइतबार नेप्सेमा ३ सय २९ कम्पनीको १ लाख १० हजार ७ सय २९ कारोबारबाट ९ अर्ब १० करोड बराबरको २ करोड २० लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ।
यो कारोबार रकम गत साता बिहीबारको तुलनामा थोरै हो । बिहीबार नेप्सेमा १४ अर्बभन्दा धेरैको कारोबार भएको थियो।