धनगढीका १६ स्थानमा ग्रासरुट्स फुटबल प्रशिक्षण सुरु - Chaitanya News
  • 2026-11-21
  • 15:52:47
  • शनिबार,मंसिर ०६, २०८३
  • धनगढीका १६ स्थानमा ग्रासरुट्स फुटबल प्रशिक्षण सुरु

    धनगढीका १६ स्थानमा ग्रासरुट्स फुटबल प्रशिक्षण सुरु

    धनगढीः फुटबलको आधार बलियो बनाउँदै भविष्यका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित धनगढी उपमहानगरपालिकाले नगरका १६ स्थानमा ग्रासरुट लेभल फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबल प्रशिक्षण विस्तार गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमको शनिबार धनगढी रङ्गशालामा उद्घाटन गरिएको हो।

    धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघको सहकार्यमा सञ्चालन हुने कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रशिक्षक तथा खेलाडीलाई फुटबल हस्तान्तरण गरेर गरेका थिए। उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपाल हमाल, नगर उपप्रमुख कन्दकलाकुमारी राना, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमअन्तर्गत १३ वर्षमुनिका बालबालिकालाई सातामा दुई दिन शनिबार र आइतबार फुटबल प्रशिक्षण दिइनेछ। मंसिरदेखि तीन महिनासम्म सञ्चालन हुने प्रशिक्षण नगरका विभिन्न वडास्थित सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा हुनेछ। स्थानीय स्तरमै फुटबलको आधार बलियो बनाउने, बालबालिका तथा युवालाई सुरुवाती चरणदेखि प्रशिक्षणको अवसर प्रदान गर्ने र प्रतिभावान् खेलाडी पहिचान गर्ने कार्यक्रमको लक्ष्य छ।

    कार्यक्रमको उद्घाटनसँगै धनगढी रङ्गशालामा यू–१३ ग्रासरुट्स फुटबल फेस्टिबलसमेत आयोजना गरिएको थियो। फेस्टिबलमा धनगढी उपमहानगरपालिकाका ४ सय र अन्य पालिकाका २ सय खेलाडीसहित कुल ८ सय बालबालिकाले सहभागिता जनाएको कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले जानकारी दिए।

    फेस्टिबलमा चैतन्य पाठशालाका ८० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ४३ जनाले फुटबल खेलेका थिए। सहभागी खेलाडीमध्ये कक्षा ८ का सुलभ भण्डारी र आशिष खड्का तथा कक्षा ५ का डाइमण्ड थापा र ग्रेसिया शाही उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनीहरूलाई कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मल्लले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए। फेस्टिबलमा २४ जना खेलाडी उत्कृष्ट घोषित भएका थिए।

    १६ स्थानमा प्रशिक्षण, वडागत रूपमा मैदान छनोट
    धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच भएको सम्झौताअनुसार नगरका विभिन्न वडामा रहेका सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा प्रशिक्षण सञ्चालन गरिनेछ। सम्झौतापत्रमा नगरप्रमुख गोपाल हमाल र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका छन्।

    कार्यक्रमअन्तर्गत वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सूक्ष्म वर्गीकरण नजिकको खेल मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ बसपार्क खेल मैदान, वडा नम्बर ५ को यातायात नजिकको श्रीकृष्ण खेल मैदान र वडा नम्बर ६ को धनगढी पोलिटेक्निक खेल मैदान छनोट भएका छन्।

    त्यस्तै, वडा नम्बर ७ को पटेला खेल मैदान, वडा नम्बर ८ को धनगढी नमुना माध्यमिक विद्यालय, वडा नम्बर ११ को दक्षिणकाली आधारभूत विद्यालय, वडा नम्बर १२ को मनकामना युवा क्लब, वडा नम्बर १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय र नवज्योति आधारभूत विद्यालय नजिकका खेल मैदानमा पनि प्रशिक्षण सञ्चालन हुनेछ।

    यसैगरी वडा नम्बर १४ को टाउन प्लानिङ खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको मैदान र डुमौलिया खेल मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम तथा वडा नम्बर १९ को आइ गाउँस्थित खेल मैदानलाई प्रशिक्षण केन्द्रका रूपमा समेटिएको छ।

    ग्रासरुट खेलकुदमा उपमहानगरको लगानी विस्तार
    धनगढी उपमहानगरपालिकाले पछिल्ला वर्षहरूमा ग्रासरुट खेलकुद विकासलाई प्राथमिकतामा राख्दै कार्यक्रम विस्तार गर्दै आएको छ। आर्थिक वर्ष २०७९/८० मा ग्रासरुट क्रिकेट कार्यक्रम सञ्चालन गरेको उपमहानगरले २०८०/८१ मा चार स्थान र २०८१/८२ मा पनि चार स्थानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरेको थियो। आर्थिक वर्ष २०८२/८३ मा कार्यक्रमलाई १२ स्थानमा विस्तार गरिएको थियो।

    यस वर्ष १६ स्थानमा फुटबल प्रशिक्षण सञ्चालन गर्न लागिएको हो। उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा खाली रहेका सार्वजनिक जग्गाको उपयोग गर्दै हालसम्म २१ स्थानमा खेल मैदान निर्माण गरेको जनाएको छ।

    खेल मैदान निर्माणसँगै नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर विद्यालय तथा सार्वजनिक मैदानलाई खेलकुद गतिविधिको केन्द्र बनाउने उपमहानगरको प्रयासले फुटबलको जग बलियो बनाउने अपेक्षा गरिएको छ। सुरुवाती उमेरमै प्रशिक्षण, खेल्ने अवसर र प्रतिभा पहिचानको वातावरण तयार भए धनगढीबाट भविष्यमा जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने विश्वास गरिएको छ।