धनगढीः धनगढीमा ग्रासरुट्स फुटबल फेस्टिबल सम्पन्न भएको छ। शनिबार धनगढी रङ्गशालामा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघको संयुक्त आयोजनामा फेस्टिबल सम्पन्न भएको हो।
विद्यालय उमेरका बालबालिकामा फुटबल सीप विकास गर्दै प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँगको सहकार्यमा सबै वडामा ग्रासरुट्स फुटबल प्रशिक्षण सञ्चालन गर्दै आएको छ।
यस वर्ष पनि मंसिरदेखि तीन महिनासम्म उपमहानगरपालिकाका १६ स्थानमा ग्रासरुट्स फुटबल प्रशिक्षण सञ्चालन गरिनेछ। १३ वर्षमुनिका बालबालिकालाई सातामा दुई दिन शनिबार र आइतबार प्रशिक्षण दिइने कार्यक्रम रहेको छ।
फुटबल फेस्टिबलको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले गरेका हुन्। उनले खेलाडी बालबालिकालाई फुटबल हस्तान्तरण गर्दै फेस्टिबलको उद्घाटन गरेका थिए।
कार्यक्रममा मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघको संयुक्त प्रयासले उत्कृष्ट फुटबल खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे। खेलकुदले मानिसलाई कुलतबाट बचाउन, स्वस्थ रहन र राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले खेलकुदलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए। क्रिकेट र फुटबल लोकप्रिय खेल भएकाले २०७९ सालदेखि नै यी दुवै खेलका खेलाडी उत्पादन गर्ने उद्देश्यले ग्रासरुट्स प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए।
नगर उपप्रमुख कन्दकलाकुमारी रानाले धनगढी उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न काम गर्दै आएको बताउँदै ग्रासरुट्स फुटबल प्रशिक्षणबाट प्रतिभावान् खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरिन्।
फेस्टिबलमा चैतन्य पाठशालाका ८० जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ४३ जनाले फुटबल खेलेका थिए। सहभागी खेलाडीमध्ये कक्षा ८ का सुलभ भण्डारी, आशिष खड्का तथा कक्षा ५ का डाइमण्ड थापा र ग्रेसिया शाही उत्कृष्ट खेलाडी घोषित भए। उनीहरूलाई कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले पदक तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए।
फेस्टिबलमा सहभागी २४ जना खेलाडी उत्कृष्ट घोषित भएका थिए। धनगढी उपमहानगरपालिकाबाट ४ सय तथा अन्य नगरपालिकाबाट २ सय खेलाडीसहित कुल ८ सय बालबालिकाले सहभागिता जनाएको कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले जानकारी दिए।
धनगढी उपमहानगरपालिकाअन्तर्गतका सबै वडाका बालबालिकालाई ग्रासरुट्स फुटबल कार्यक्रममा सहभागी गराउने लक्ष्य राखिएको छ। त्यसका लागि नगरका १६ स्थानमा एकैसाथ प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ।