फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान - Chaitanya News
  • 2026-11-22
  • 14:53:39
  • आइतबार,मंसिर ०७, २०८३
  • फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान

    फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान

    धनगढीः कैलालीको धनगढीमा निर्माण गर्ने भनिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ। रङ्गशाला निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान भएसँगै वर्षौंदेखि चर्चामा रहेको फाप्ला परियोजना कार्यान्वयनतर्फ अघि बढ्ने बाटो खुलेको हो।

    सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढी, कैलालीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सार्वजनिक खरिद प्रणालीमार्फत रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान गरेको हो। ठेक्का आह्वानसँगै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने अपेक्षा गरिएको छ।

    धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारको बोराडाँडी क्षेत्रमा साढे ३८ बिघा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ।

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार निर्माणको पहिलो चरणमा मैदानको हालको जमिनको सतहमा माटो भर्ने, जमिन सम्याउने र प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेलगायतका काम गरिनेछ। उनले फाप्ला रङ्गशाला सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको आयोजना भएकाले सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका छन्।

    ठेक्का आह्वान भएपछि फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माण अभियानका नेतृत्वकर्ता सुवास शाहीले यसलाई वर्षौंदेखिको सपना, संघर्ष र धैर्यको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यो उपलब्धि कुनै एक व्यक्ति वा समूहको नभई फाप्लालाई आफ्नो मुटुको टुक्रा ठान्ने हरेक नेपालीको साझा विजय हो।

    शाहीले अब फाप्ला निर्माणको सपना कल्पनामा मात्र सीमित नरही कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका छन्। उनले भनेका छन्, ‘यो उपलब्धि कुनै एक व्यक्ति वा समूहको मात्र होइन, फाप्लालाई आफ्नो मुटुको टुक्रा ठान्ने हरेक नेपालीको साझा विजय हो। अझै यात्रा बाँकी छ, जिम्मेवारी धेरै छन्। तर अब हाम्रो सपना केवल कल्पनामा सीमित रहेन, धरातलमा कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।’

    क्रिकेटको विकाससँगै जन्मिएको फाप्ला अभियान
    धनगढीमा विसं २०६६ सालदेखि क्रिकेटको व्यावसायिक विकास र प्रवर्द्धनका लागि सुरु भएका प्रयासले कालान्तरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानको रूप लिएको थियो। क्रिकेट अभियन्ता सुवास शाहीको अगुवाइमा एसपीए कप, धनगढी क्रिकेट लिग (डीसीएल) तथा धनगढी प्रिमियर लिग (डीपीएल) जस्ता प्रतियोगिता सञ्चालन हुन थालेपछि धनगढीमा क्रिकेटको लोकप्रियता बढ्दै गएको थियो।

    यसैक्रममा २०७१ सालमा अस्थायी क्रिकेट मैदानका रूपमा फाप्लाको पहिचान गरिएको थियो। त्यसपछि २०७२ सालदेखि फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका रूपमा विकास गर्ने लक्ष्यसहित ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो। आर्थिक वर्ष २०७२/७३ को संघीय बजेटमा समेत फाप्ला रङ्गशाला निर्माणको विषय समेटिएको थियो। तर, जग्गा प्राप्ति हुन नसक्दा आयोजना लामो समय अघि बढ्न सकेन।

    राष्ट्रिय प्राथमिकतामा परेको आयोजना
    २०७८ माघ २४ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आयोजना कार्यान्वयनका लागि विकास समिति गठन गर्ने निर्णय गरेको थियो। त्यसपछि २०७९ वैशाख २६ गते नेपाल राजपत्रमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन आदेश प्रकाशित भएको थियो। सोही वर्ष आयोजनाका लागि जग्गा प्राप्ति गरिएको थियो।

    यस्तै, २०७९ जेठ २३ गते सरकारले अभियानका नेतृत्वकर्ता सुवास शाहीलाई विकास समितिको अध्यक्षमा मनोनीत गरेको थियो।

    जग्गा प्राप्ति, विकास समिति गठन तथा विभिन्न प्रशासनिक प्रक्रिया पार गर्दै आएको फाप्ला आयोजना अब निर्माणका लागि ठेक्का आह्वान भएपछि कार्यान्वयनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। सुदूरपश्चिममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट पूर्वाधार निर्माण गर्ने वर्षौंदेखिको सपना साकार हुने दिशामा यो कदमलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।