काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) ले २६७ नेपाली कैदीलाई आममाफी दिएको छ । ५४ औँ राष्ट्रिय दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) ले २६७ जना नेपाली कैदीलाई आममाफी दिएको हो। यसप्रति नेपाल सरकारले युएई सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा युएई सरकारले प्रदान गरेको आममाफीलाई नेपाल(यूएईबीच द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र मानवीय सहयोगको उदाहरणका रूपमा लिइएको उल्लेख छ।
विज्ञप्तिअनुसार आबुधाबीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार पटक(पटक अनुरोध गरेपछि युएई सरकारले उक्त निर्णय गरेको हो।
आममाफी पाएका नेपाली नागरिककाविरुद्ध अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको खण्डमा युएईको कानुनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि स्वदेश फर्किन सक्ने जनाइएको छ।
युएईमा रोजगारी तथा बसोबास गर्दै आएका नेपाली नागरिकका हकहितका विषयमा नेपाल सरकारले कूटनीतिक पहललाई निरन्तरता दिँदै आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।