साफ महिला च्याम्पियनसिपमा आज नेपाल भुटानसँग भिड्दै - Chaitanya News
  • 2026-04-26
  • 15:56:36
  • आइतबार,बैशाख १३, २०८३
  • साफ महिला च्याम्पियनसिपमा आज नेपाल भुटानसँग भिड्दै

    साफ महिला च्याम्पियनसिपमा आज नेपाल भुटानसँग भिड्दै

    कास्की– १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज (सोमबार) लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ। यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भूटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। नेपाललाई भारतले १–० गोलले निराश बनाएको थियो। प्रतियोगिता उद्घाटन खेलमा भुटान भने बंगलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो।

    त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुवै टोली दबाबमा हुनेछन्। फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ। बंगलादेश र भारतले भने एकरएक खेल जितेर समान तीन अकं जोडेका छन्।

    प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ। जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन्।

    प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए। खेल पोखरा अन्तरराष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको छ ।