चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-10-06
  • 10:57:21
  • मंगलबार,आश्विन २०, २०८३

About Author

संवेदनशील सूचना चुहावटमा गृहमन्त्रीको कडा चेतावनी, ‘जोसुकै भए पनि कानुनको कठघरामा ल्याइन्छ’

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायबाट गोप्य र संवेदनशील सूचना अनधिकृत रूपमा बाहिर पुर्‍याउने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना व्यक्तिगत सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताएका हुन्। पदका कारण सूचनामा पहुँच प्राप्त हुने भए पनि त्यसलाई दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ। गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य सूचना अनधिकृत व्यक्ति वा निकायलाई पुर्‍याउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको उनले उल्लेख गरेका छन्। उनले सुरक्षा संयन्त्रमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध नियन्त्रण, अनुसन्धान तथा गम्भीर घटनाको तथ्य स्थापित गर्न महत्त्वपूर्ण हुने बताएका छन्। “राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,” गृहमन्त्री गुरुङले भनेका छन्। उनको यस्तो धारणा सशस्त्र प्रहरी बल, नेपालका एआईजी वंशीराज दाहाल संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बनमा परेको भोलिपल्ट आएको हो। दाहालमाथि लागेको आरोपबारे गृह मन्त्रालयले जाँचबुझ अघि बढाइरहेको छ। छानबिनको अन्तिम निष्कर्ष आउन बाँकी रहेकै अवस्थामा गृहमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई गृह प्रशासन तथा सुरक्षा निकायमा सूचना सुरक्षालाई थप कडाइ गर्ने संकेतका रूपमा हेरिएको छ।

News by संवेदनशील सूचना चुहावटमा गृहमन्त्रीको कडा चेतावनी, ‘जोसुकै भए पनि कानुनको कठघरामा ल्याइन्छ’ :