चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 3 of 1108
  • 2026-10-08
  • 09:19:35
  • बिहिबार,आश्विन २२, २०८३

About Author

लोकसेवा असम्भव होइन, निरन्तरता र अनुशासन नै सफलताको आधार हो : उपसचिव श्रुती श्रेष्ठ

लोकसेवा परीक्षा धेरैका लागि चुनौतीपूर्ण यात्रा हो। तर निरन्तर मेहनत, अनुशासन, आत्मविश्वास र सही तयारीबाट सफलता हासिल गर्न सकिने उदाहरण हुन्, नेपाल सरकारकी उपसचिव श्रुती श्रेष्ठ। नेपालगन्जमा प्रारम्भिक शिक्षा पूरा गरी गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरेकी श्रेष्ठले त्यसपछि सरकारी सेवाको यात्रा सुरु गरिन्। सामाजिक समावेशिता, मानव अधिकार र कानुनी क्षेत्रमा काम गर्दाको अनुभवले उनलाई न्याय सेवातर्फ आकर्षित गरायो। लोकसेवा तयारीमा विषयवस्तुको ज्ञानसँगै त्यसलाई समसामयिक घटनासँग जोडेर बुझ्नुपर्ने, नियमित लेखन अभ्यास र मोक परीक्षण गर्नुपर्ने उनको अनुभव छ। न्याय सेवामा प्रविधिको प्रयोग, कानुनी साक्षरता, विद्यालय तहदेखि कानुनी शिक्षाको आवश्यकता र सार्वजनिक सेवालाई नागरिकमैत्री बनाउने विषयमा पनि उनले आफ्ना धारणा राखेकी छन्। विदेशमा रहेका युवाले हासिल गरेको ज्ञान र सीप स्वदेशमै प्रयोग गर्न सके देश निर्माणमा योगदान पुग्ने उनको विश्वास छ। प्रस्तुत छ, चैतन्य खबरका लागि श्रुती श्रेष्ठसँग गरिएको चैतन्य संवाद। १– यहाँले प्रारम्भिक शिक्षाको अवस्थादेखि नेपाल सरकारको न्याय सेवा समूहको उपसचिव पदमा सिफारिस हुनुभएको अवस्थासम्मको यात्रालाई कसरी स्मरण गर्नुहुन्छ ? मेरो बाल्यकाल र प्रारम्भिक शिक्षा प्लस टुसम्म नेपालगन्जमै पूरा भयो। त्यसपछि स्नातक र स्नातकोत्तर तहको अध्ययनका लागि काठमाडौं आएँ। सुरुमा कानुन मेरो मुख्य वा प्राथमिक विषय थिएन। मैले समाजकार्यमा स्नातक गरेँ भने स्नातकोत्तर तहमा मानसिक स्वास्थ्यमा विशेष अध्ययन गरेँ। त्यसपछि मात्र कानुनमा स्नातक अर्थात् एलएलबी गरेकी हुँ। लोकसेवा सेवामा प्रवेश गर्नुअघि म विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत थिएँ। ती संस्थामा काम गर्दाको अनुभवले मेरो सोच र व्यक्तित्व निर्माणमा पनि ठूलो प्रभाव पारेको छ। म करिअरप्रति सचेत र महत्वाकांक्षी स्वभावकी थिएँ। आफूले जुन क्षेत्रमा काम गरिरहेको भए पनि मेरो मनमा सधैँ एउटा प्रश्न उठिरहन्थ्यो– ‘के म यही कामका लागि बनेकी हुँ ?’ आफूलाई खोज्ने क्रममा निरन्तर प्रयास गरिरहेँ। त्यही आत्मखोज र प्रश्नले मलाई लोकसेवा तथा सरकारी सेवाको यात्रातर्फ डोर्याएको जस्तो लाग्छ। अहिले म जुन ठाउँमा आइपुगेकी छु, त्यसलाई हेर्दा मलाई लाग्छ, ‘सायद म यहीँ पुग्नका लागि बनेकी थिएँ।’ २– अन्य क्षेत्रमा पनि करिअरका धेरै विकल्प हुन्छन्। तर सरकारी सेवा, सार्वजनिक सेवा र त्यसमा पनि न्याय सेवा नै रोज्नुको पछाडि मुख्य प्रेरणा वा कारण के थियो ? विभिन्न संस्थामा काम गर्ने क्रममा मेरा मुख्य सरोकारवाला सरकारी निकाय तथा मन्त्रालयहरू नै हुनुहुन्थ्यो। हामी उहाँहरूसँग साझेदारका रूपमा मिलेर काम गर्थ्यौँ। विशेषगरी मैले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसँग सम्बन्धित क्षेत्रमा काम गर्ने अवसर पाएँ। त्यस क्रममा नीतिगत तथा कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने, सरकारसँग समन्वय गरेर काम गर्ने र विभिन्न मन्त्रालयमा जाने क्रममा एउटा कुरा गहिरोसँग महसुस गरेँ,समाजमा वास्तवमै दिगो र ठोस परिवर्तन ल्याउन सरकारी क्षेत्रभित्रै रहेर काम गर्नु आवश्यक रहेछ। त्यसका साथै आफ्नो ज्ञानको दायरा फराकिलो बनाउने, व्यावसायिक रूपमा अघि बढ्ने र आफ्नो व्यक्तित्वसँग सुहाउने क्षेत्र भएकाले पनि म सरकारी सेवातर्फ आकर्षित भएँ। मलाई कानुनी क्षेत्रमा रुचि थियो र कानुनमै करिअर बनाउने इच्छा पनि थियो। यही कारणले अन्ततः मलाई न्याय सेवातर्फ डोर्यायो। ३– हिजो तपाईं विद्यार्थी हुनुहुन्थ्यो। त्यसपछि गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा सामाजिक अभियन्ता तथा सामाजिक समावेशिता र विकासका विभिन्न क्षेत्रमा काम गर्नुभयो। अहिले अधिकृत हुँदै उपसचिव पदमा सिफारिस हुनुभएको छ। हिजो सेवाग्राहीका रूपमा रहँदाको अनुभव र आज आफैँ सेवा प्रदायकका रूपमा न्याय दिने निकायमा पुग्दाको अवस्थाबीच कस्तो फरक वा खाडल महसुस गर्नुभएको छ ? सेवाग्राही भएर सेवा लिन जाँदा र आफैँ सेवा प्रदायक भएर बस्दा धेरै ठूलो अन्तर महसुस हुँदो रहेछ। सेवाग्राही हुँदा आफ्नै किसिमका अपेक्षाहरू हुन्छन्। तर जब हामी सेवा प्रदायकको भूमिकामा पुग्छौँ, त्यसपछि दुवै पक्षबाट सोच्नुपर्ने हुन्छ। सेवाग्राहीको दृष्टिकोणबाट उसलाई कस्तो सेवा चाहिएको छ, कति छिटो सेवा आवश्यक छ भन्ने कुरा बुझ्नुपर्छ। अर्कोतर्फ सेवा प्रदायकका रूपमा कानुनी प्रक्रिया, अधिकारक्षेत्र र दायराहरूलाई पनि ध्यान दिनुपर्छ। सेवा प्रदान गर्दा कत्तिको मैत्रीपूर्ण वातावरण बनाउन सकिन्छ र नागरिकलाई कसरी सहजता प्रदान गर्न सकिन्छ भन्ने कुराको गहिरो बोध मलाई सेवा प्रदायकको भूमिकामा आएपछि मात्र भयो। गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने शैली, कार्यक्षेत्र र जिम्मेवारीको प्रकृति फरक हुन्छ। सार्वजनिक वा सरकारी संस्थाको काम गर्ने तरिका, कानुनी प्रक्रिया र दायित्व भने त्यसको तुलनामा सर्वथा फरक हुन्छ। गैरसरकारी क्षेत्रमा काम गर्दाको अनुभव र सरकारी सेवामा प्रवेश गरेपछिको अनुभवले मेरो ज्ञान र दृष्टिकोणमा ठूलो परिवर्तन ल्याएको छ। अहिले पनि म यही क्षेत्रमा सिकाइकै चरणमा छु। हरेक दिन नयाँ कुरा सिक्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने प्रयास गरिरहेकी छु। ४– साँच्चिकै न्याय सेवा कस्तो हुनुपर्छ जस्तो लाग्छ ? अहिले न्याय सेवाप्रति मानिसको विश्वास र अपेक्षालाई कसरी हेर्नुभएको छ ? न्याय सेवाप्रति मानिसको विश्वास र आत्मविश्वास अझ बढाउनुपर्ने आवश्यकता छ। न्याय सेवाको कार्यप्रकृति अन्य निकायभन्दा फरक छ। प्रक्रियागत जटिलताका कारण केही ढिलाइ हुने अवस्था पनि छ। तर अहिले न्यायपालिका क्रमशः प्रगतिशील र प्रविधिमैत्री बन्दै गएको छ। अदालतहरूमा विद्युतीय प्रणालीको प्रयोग बढेको छ, आदेशहरू छिटो प्रणालीमा राखिने गरेका छन् र सेवाग्राहीका लागि सेवामैत्री वातावरण तथा गुनासो सुनुवाइको व्यवस्था गरिएको छ। यद्यपि अझै सुधार गर्ने ठाउँ धेरै छन्। अहिलेको डिजिटल र विश्वव्यापी परिवेशअनुसार न्याय सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउँदै लैजानुपर्छ। वर्षौँदेखि विचाराधीन मुद्दाको समस्या समाधान गर्दै समयसापेक्ष सुधार गर्न आवश्यक छ र त्यसतर्फ काम पनि भइरहेको छ। ५– लोकसेवाको प्रतिस्पर्धात्मक परीक्षा पार गरेर न्याय सेवामा आउँदा सिद्धान्त र नेपालको व्यावहारिक अवस्थाबीच कत्तिको तालमेल पाउनुभयो ? कतिपय सिद्धान्तलाई व्यवहारमा लागू गर्न कठिनाइ हुन्छ। तर न्याय सम्पादनका क्रममा सिद्धान्तलाई व्यवहारमै कार्यान्वयन गर्ने प्रयास भइरहेको छ। न्याय सेवालाई अझ प्रभावकारी र उत्कृष्ट बनाउँदै लैजानुपर्ने आवश्यकता छ। ६– त्यसो भए नेपालको न्याय सेवा २१औँ शताब्दी र विश्व परिवेशअनुकूल बन्दै गएको भन्न मिल्छ ? पूर्ण रूपमा त्यस्तो भइसकेको भन्न मिल्दैन, तर न्याय सेवा त्यसतर्फ निरन्तर अघि बढिरहेको छ। अन्तर्राष्ट्रिय अभ्यास सबै कुरा जस्ताको तस्तै लागू गर्न सकिँदैन, किनकि हाम्रो आफ्नै सामाजिक र कानुनी परिवेश छ। तर न्यायमा पहुँच बढाउने, अदालतलाई पहुँचयोग्य र पारदर्शी बनाउने तथा मुद्दाको प्रक्रियागत विवरण नागरिकलाई उपलब्ध गराउने काम भइरहेको छ। सूचनाको हक र न्यायका संयन्त्रलाई प्रभावकारी बनाउँदै न्याय सेवा क्रमशः प्रगतिशील हुँदै गएको छ। ७– त्यसो भए हामी कमजोर त छैनौँ नि ? होइन, हामी कमजोर छैनौँ। न्याय सेवामा भएका सुधार र प्रगतिलाई हेर्दा यसलाई अझ प्रभावकारी बनाउने दिशामा निरन्तर काम भइरहेको छ। ८– समाजमा शिक्षा र साक्षरता बढे पनि बलात्कार, चोरी–डकैती, विभेद तथा घरेलु र लैंगिक हिंसाजस्ता घटना भइरहेका छन्। नागरिकलाई कानुनी रूपमा सचेत बनाउन र संविधान तथा कानुनलाई जीवनसँग जोड्न के गर्नुपर्छ ? यो निकै महत्त्वपूर्ण विषय हो। सामान्य रूपमा साक्षर हुनु र कानुनी रूपमा साक्षर हुनु फरक कुरा हो। धेरै नागरिकलाई समस्या पर्दा कहाँ जाने, कसरी न्याय माग्ने र आफ्नो कानुनी अधिकार के हो भन्ने जानकारी नहुन सक्छ। विभिन्न संघसंस्थाले कानुनी साक्षरताका कार्यक्रम सञ्चालन गरे पनि सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरूले आफ्ना सेवाग्राहीलाई प्रत्यक्ष रूपमा कानुनी जानकारी दिन आवश्यक छ। नागरिकलाई आफ्नो अधिकार, कर्तव्य र न्याय प्राप्त गर्ने प्रक्रियाबारे जानकारी गराउन सके कानुनी साक्षरता बढाउन सकिन्छ। ९– कानुनी साक्षरता र कानुनी शिक्षाको सुरुवात विद्यालयको पाठ्यक्रमबाटै गर्नुपर्छ ? विद्यालय तहबाटै सुरु गर्नुपर्छ। सामाजिक शिक्षामा संविधान, न्याय र कानुनका केही विषय पढाइए पनि त्यो पर्याप्त छैन। मेरो आफ्नै अनुभवमा पनि लोकसेवाको तयारी गर्ने क्रममा मात्रै संविधानका विषयलाई विस्तृत रूपमा अध्ययन गर्ने अवसर पाएँ। अहिलेको पुस्ता प्रविधि, कृत्रिम बौद्धिकता र सामाजिक सञ्जालका कारण धेरै विषयमा जानकार छ। त्यसैले विद्यालय तहकै पाठ्यक्रममा आधारभूत कानुनी शिक्षा समावेश गर्न आवश्यक छ। सामाजिक शिक्षामार्फत संविधान, नागरिकका अधिकार–कर्तव्य, न्याय र कानुनका आधारभूत विषय सानैदेखि पढाउन सके बालबालिकामा सुरुदेखि नै कानुनी चेतनाको विकास हुन्छ। १०– लोकसेवा आयोगको परीक्षा कठिन र असम्भवजस्तो लाग्ने धारणा छ। तपाईं पनि गैरसरकारी क्षेत्रमा काम गरेर सार्वजनिक सेवामा आउनुभयो। विश्वविद्यालयमा पढेको विषयले लोकसेवा तयारीमा कत्तिको सहयोग गर्छ र लोकसेवा साँच्चिकै त्यति कठिन हो ? विश्वविद्यालयमा पढेका विषय र लोकसेवाको पाठ्यक्रमबीच धेरै कुरा अन्तरसम्बन्धित हुन्छन्। हामीले अध्ययन गरेका विषयवस्तुबाटै लोकसेवाका लागि आवश्यक धेरै ज्ञान प्राप्त गर्न सकिन्छ। तर पाठ्यक्रम पढेर मात्र पुग्दैन, त्यसलाई व्यवहार र समाजमा भइरहेका घटनासँग जोडेर बुझ्न सक्नु महत्त्वपूर्ण हुन्छ। लोकसेवा असम्भव भने होइन, तर सजिलो पनि छैन। सुरुमा मलाई पनि यसको पाठ्यक्रम हेर्दा धेरै ठूलो र गाह्रो लागेको थियो। धेरै विषयवस्तु कसरी पढ्ने र समय कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल थियो। तर तयारी गर्दै जाँदा बजारमा लोकसेवालाई जति ठूलो हाउगुजीका रूपमा प्रस्तुत गरिन्छ, वास्तवमा त्यति गाह्रो होइन भन्ने महसुस भयो। यसका लागि कुनै चमत्कार आवश्यक पर्दैन। कडा परिश्रम, समर्पण, निरन्तरता र अनुशासन आवश्यक हुन्छ। विशेषगरी निरन्तरता र अनुशासन लोकसेवा तयारीका मुख्य आधार हुन्। एक दिन धेरै घण्टा पढेर अर्को दिन पढ्दै नपढ्ने होइन, दैनिक रूपमा निश्चित अनुशासनमा रहेर निरन्तर अध्ययन गर्नुपर्छ। यही नै सफलताको मुख्य आधार हो। विश्वविद्यालयमा विज्ञान, इन्जिनियरिङ वा सामाजिक कार्य जुनसुकै विषय पढेको भए पनि त्यहाँ सिकेको ज्ञानलाई समाजमा भइरहेका घटनासँग जोडेर प्रस्तुत गर्न सक्नु लोकसेवा तयारीमा महत्त्वपूर्ण हुन्छ। ११– न्याय सेवाको शाखा अधिकृतको नतिजामा महिलाको उपस्थिति उल्लेख्य देखिन्छ। कानुन अध्ययन र न्याय सेवाप्रति महिलाको आकर्षण बढ्नुको कारण के होला ? कानुन अध्ययन गर्ने विद्यार्थीमध्ये सुरुदेखि नै महिलाको संख्या बढी हुने गरेको देखिन्छ। मैले मानव अधिकार तथा लैंगिक न्यायमा स्नातकोत्तर गर्दा हाम्रो कक्षामा पनि पुरुष विद्यार्थीको संख्या निकै कम थियो। यसको ठ्याक्कै कारण यही हो भनेर भन्न त सकिँदैन। तर कानुनसम्बन्धी शैक्षिक अध्ययनमै महिलाको सहभागिता बढी भएकाले त्यसको प्रभाव लोकसेवा तथा न्याय सेवाको नतिजामा पनि देखिएको हुन सक्छ। न्याय सेवातर्फ महिलाको उपस्थिति बढ्नु सकारात्मक पक्ष हो र आगामी दिनमा पनि यो सहभागिता अझ बढ्दै जाने देखिन्छ। १२– महिलाहरू कानुन अध्ययन र न्याय सेवातर्फ बढी आकर्षित हुनुको कारण के होला ? यसमा सामाजिक न्याय, सम्मान, सुरक्षा र करियरको स्थायित्वजस्ता पक्षले प्रभाव पारेका छन् ? यो व्यक्ति–व्यक्तिको रुचि र दृष्टिकोणमा भर पर्छ। मैले कानुन पढ्नुको मुख्य कारण मेरो आफ्नै इच्छा र कानुनी क्षेत्रप्रतिको रुचि थियो। कसैलाई पारिवारिक वा अन्य दबाब हुन सक्छ भने कसैले आफ्नै इच्छाले यो क्षेत्र रोजेको हुन सक्छ। महिलाहरू न्याय सेवामा बढी देखिनुको एउटा कारण कानुन अध्ययन गर्ने विद्यार्थीमै महिलाको सङ्ख्या तुलनात्मक रूपमा धेरै हुनु हो। साथै सरकारी सेवा महिलाका लागि स्थायित्व, आत्मसम्मान, समाजमा योगदान गर्ने अवसर र निरन्तर करियर प्रगतिका हिसाबले पनि आकर्षक क्षेत्र हो। यी अवसर र सम्भावनाका कारण धेरै महिला यो सेवातर्फ आकर्षित भएको देखिन्छ। १३– अहिले किशोरावस्थामै कानुन पढ्ने इच्छा राख्ने विद्यार्थीहरू पनि धेरै छन्। यसले कानुनलाई सामाजिक न्याय र मानव सेवासँग जोडेर हेर्ने प्रवृत्ति बढेको देखाउँछ ? पक्कै पनि। यो महिलामा मात्र नभई समग्र रूपमा पुरुष र महिलामा लागू हुन्छ। तर महिलाको हकमा कानुन पढ्ने विद्यार्थीको सङ्ख्या बढी हुनु र सरकारी सेवामा स्थायित्व, सम्मान तथा करियर विकासका अवसर हुनु मुख्य कारणका रूपमा लिन सकिन्छ। १४– लोकसेवा परीक्षामा ज्ञान मात्र भएर पुग्दैन, त्यसलाई उत्तरपुस्तिकामा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। राम्रो उत्तर लेख्ने निश्चित ढाँचा वा विधि के हो ? एउटै निश्चित ढाँचा मात्र हुन्छ भन्ने छैन। उत्तर लेख्दा ढाँचा महत्त्वपूर्ण भए पनि मुख्य कुरा प्रश्नलाई कसरी बुझ्ने, प्रश्नले मागेको विषयलाई कसरी सम्बोधन गर्ने र अन्त्यमा तार्किक निष्कर्षमा कसरी पुग्ने भन्ने हो। अधिकृत तहमा परिचय, मुख्य विषयवस्तु र निष्कर्षसहितको स्पष्ट संरचनामा बढी ध्यान दिनुपर्छ। तर उपसचिव तहमा पुग्दा उत्तरमा विश्लेषणात्मक र समालोचनात्मक दृष्टिकोण आवश्यक हुन्छ। १५–अधिकृत र उपसचिव तहको विषयगत तयारी गर्दा परीक्षार्थीले कुन कुरामा विशेष ध्यान दिनुपर्छ ? सबैभन्दा पहिले पाठ्यक्रमसँग पूर्ण रूपमा परिचित हुनुपर्छ। पाठ्यक्रममा के–के विषय छन् र के पढ्नुपर्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ। त्यसपछि विषयवस्तुको अवधारणा बुझेर पढ्नुपर्छ र विभिन्न विषयबीचको अन्तरसम्बन्ध पहिचान गर्नुपर्छ। एकपटक पढेर मात्र पुग्दैन, पटक–पटक पुनरावृत्ति गर्नुपर्छ। निरन्तर लेख्ने अभ्यास पनि अत्यन्त महत्त्वपूर्ण छ। लेख्ने अभ्यासले उत्तरको शैली, गति र प्रस्तुतिमा सुधार ल्याउँछ। विशेषगरी उपसचिव तहको तयारी गर्दा एउटै पुस्तक वा एउटै लेखकको दृष्टिकोणमा मात्र सीमित हुनु हुँदैन। पाठ्यक्रमसँग सम्बन्धित कम्तीमा तीन–चारवटा फरक लेख तथा सामग्री पढ्दा विषयलाई विभिन्न दृष्टिकोणबाट बुझ्न सकिन्छ। त्यसले प्रश्नलाई घुमाएर सोधिएको अवस्थामा पनि प्रभावकारी उत्तर लेख्न सहयोग गर्छ। १६– परीक्षकलाई प्रभावित पार्ने र अरूको उत्तरभन्दा आफ्नो उत्तरलाई फरक देखाउने उपाय के हुन सक्छ ? उत्तरमा विषयवस्तुको ज्ञानसँगै प्रस्तुतिको शैली पनि महत्त्वपूर्ण हुन्छ। मेरो अनुभवमा, सान्दर्भिक भनाइ वा उद्धरणबाट उत्तर सुरु गर्न सकिन्छ र अन्त्यमा प्रभावकारी निष्कर्ष वा उपयुक्त उद्धरण राख्न सकिन्छ। यसले उत्तरलाई आकर्षक र स्तरीय बनाउन सहयोग गर्छ। मुख्य कुरा अरूको उत्तरभन्दा आफ्नो उत्तरलाई कसरी फरक, तार्किक र विश्वसनीय बनाउने भन्ने हो। परीक्षकलाई आफूले विषय बुझेको छु भन्ने अनुभूति गराउन सक्ने गरी उत्तर प्रस्तुत गर्नु नै महत्त्वपूर्ण हुन्छ। १७– अहिले बजारमा पुस्तक, अध्ययन सामग्री र तयारी गराउने संस्थाहरू धेरै छन्। यस्तो अवस्थामा विद्यार्थीले प्रभावकारी अध्ययन सामग्री कसरी छनोट गर्ने ? तयारी सुरु गर्दा एउटा पुस्तकलाई आधार बनाउनुपर्छ। धेरै पुस्तक तथा सामग्री संकलन गर्नुभन्दा एउटा राम्रो पुस्तकलाई आधार बनाएर त्यससँग सम्बन्धित सामग्री अध्ययन गर्नु प्रभावकारी हुन्छ। मैले पनि अधिकृतको तयारी गर्दा धेरै सामग्री संकलन गरेँ, तर त्यसले मुख्य विषयवस्तुमा ध्यान दिन केही समस्या भयो। उपसचिवको तयारी गर्दा भने एउटा पुस्तकलाई आधार बनाएँ। उपसचिवस्तरको तयारी गर्दा विषयवस्तु पढेर मात्र पुग्दैन। त्यसलाई सन्दर्भसँग जोडेर त्यसका सबल पक्ष, कमजोर पक्ष, चुनौती र अवसर के हुन् भनेर स्वाट विश्लेषण गर्नुपर्छ। साथै, उपलब्ध अवसरलाई व्यवहारमा लागू गर्न के गर्न सकिन्छ भन्ने उपायसमेत सोचेर अध्ययन गर्दा प्रश्नलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकिन्छ। १८– लोकसेवा तयारीमा मोक परीक्षण कत्तिको आवश्यक हुन्छ ? मोक परीक्षण सबैले दिनुपर्छ। मैले पनि अलि ढिलो मात्र मोक परीक्षण दिएँ, जुन पहिले नै दिनुपर्ने रहेछ भन्ने लाग्छ। यसले विशेषगरी समय व्यवस्थापनमा धेरै सहयोग गर्छ। घरमा बसेर अभ्यास गर्नु र परीक्षा हलको वातावरणमा तीन घण्टाभित्र प्रश्नको उत्तर लेख्नु फरक हुन्छ। मोक परीक्षणबाट आफ्नो लेखन क्षमता, समय व्यवस्थापन र कमजोरी पहिचान गर्न सकिन्छ। विज्ञ तथा शिक्षकबाट प्राप्त पृष्ठपोषणले कहाँ सुधार गर्नुपर्छ भन्ने स्पष्ट हुन्छ। त्यसैले कक्षा लिए पनि नलिए पनि लोकसेवा तयारी गर्नेले नियमित मोक परीक्षण दिनु उपयोगी हुन्छ। १९– अहिले एआई र डिजिटल प्रविधिको प्रभाव बढिरहेको छ। न्याय सेवामा पनि अनलाइन म्याद तामेली, भर्चुअल बहस, मुद्दाको अवस्था तथा अनलाइन तारिखजस्ता सेवा सुरु भएका छन्। दुर्गम क्षेत्रका सेवाग्राहीलाई समेत सहज हुने गरी प्रविधिको प्रयोगलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ ? अदालतको मुख्य उद्देश्य न्याय सम्पादन गर्नु र त्यस प्रक्रियालाई सरल तथा सहज बनाउनु हो। अहिले सर्वोच्च अदालतसहित अन्य अदालतहरू पनि डिजिटल प्रविधिको प्रयोगमा अघि बढिरहेका छन्। अनलाइन म्याद तामेली, भर्चुअल बहस, मुद्दाको अवस्था हेर्ने र अनलाइन तारिख लिनेजस्ता सेवा सुरु भएका छन्। यसले हुम्ला, दार्चुला वा सोलुखुम्बुजस्ता दुर्गम क्षेत्रका सेवाग्राहीलाई काठमाडौँ आएर मुद्दा लड्नुपर्ने बाध्यता र खर्च कम गर्न सहयोग गर्न सक्छ। तर स्रोत–साधन, प्रविधि र मानव संसाधनको पर्याप्तता अझै चुनौतीका रूपमा छन्। त्यसैले यी पक्षलाई सुधार गर्दै न्याय सेवालाई क्रमशः पूर्ण रूपमा डिजिटल र सेवाग्राहीमैत्री बनाउँदै लैजान आवश्यक छ। २०– धेरै युवा रोजगारी र भविष्यको खोजीमा विदेश गइरहेका छन्। विदेश गएका साथीहरू र नेपालमै बसेर सेवा गरिरहेका तपाईंको अनुभवलाई हेर्दा देशमै अवसर र सम्भावना देख्नुहुन्छ ? मेरा धेरै नजिकका साथीहरू विदेशमा हुनुहुन्छ र उहाँहरू पनि आफ्नो क्षेत्रमा राम्रो गरिरहनुभएको छ। तर नेपालमा मेरो प्रगति र सफलताबारे उहाँहरूले सधैँ सकारात्मक प्रतिक्रिया दिनुहुन्छ। आफ्नै देशमा बसेर सेवा गर्ने अवसर पाउनु र करियरमा अघि बढ्नु राम्रो भएको उहाँहरूको धारणा छ। अहिले धेरै युवा विदेश गएर अध्ययन, सीप र अनुभव हासिल गरेपछि नेपाल फर्किएर लोकसेवा तयारी गर्ने र देशमै केही गर्ने क्रम पनि बढिरहेको छ। विदेश जानु आफैँमा नराम्रो होइन। विदेशमा सिकेको ज्ञान, सीप र अनुभव नेपाल फर्किएर देश निर्माणमा प्रयोग गर्न सकियो भने त्यसको अझ ठूलो अर्थ हुन्छ। नेपालमा अवसर नै छैन भन्ने होइन। अवसर प्राप्त गर्ने क्रममा चुनौती अवश्य छन्, तर निरन्तर मेहनत र इमानदार प्रयास गर्ने हो भने नेपालमै पनि राम्रो र उज्ज्वल सम्भावना रहेको मेरो अनुभव छ। २१– अन्त्यमा विकट क्षेत्रदेखि देशभरका हजारौँ युवा लोकसेवा तयारीमा छन्। उनीहरूलाई तपाईंको मुख्य सन्देश के छ ? यदि मैले लोकसेवा उत्तीर्ण गर्न सक्छु भने अरूले पनि सक्छन् भन्ने आत्मविश्वास सबैभन्दा पहिले हुनुपर्छ। आफूले तय गरेको लक्ष्यप्रति लगनशीलता, अनुशासन र निरन्तरता आवश्यक छ। लोकसेवा निकै गाह्रो छ, सकिँदैन भन्ने बजारको धारणा सही होइन। निरन्तर मेहनतले सफलता अवश्य दिन्छ, ढिलो–चाँडो हुनु फरक कुरा हो। त्यसैले नतिजालाई मात्र केन्द्रमा राखेर होइन, प्रक्रियामा ध्यान दिएर अध्ययन गर्नुपर्छ। मेरो आफ्नै अनुभवमा पनि ‘म सक्छु कि सक्दिनँ’ भन्ने आत्मशंका ठूलो चुनौती थियो। पछि मैले के बुझेँ भने पढ्ने, मेहनत गर्ने र योजना बनाउने हाम्रो जिम्मेवारी हो, तर नतिजा हाम्रो नियन्त्रणमा हुँदैन। त्यसैले नतिजाको चिन्ताभन्दा आज के गर्न सकिन्छ र कति राम्रोसँग तयारी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।

News by लोकसेवा असम्भव होइन, निरन्तरता र अनुशासन नै सफलताको आधार हो : उपसचिव श्रुती श्रेष्ठ :