काँग्रेसको बन्द सत्र सबैका लागि खुला, प्रतिवेदन पारित गर्ने तयारी - Chaitanya News
  • 2026-10-07
  • 12:57:01
  • बुधबार,आश्विन २१, २०८३
  • काँग्रेसको बन्द सत्र सबैका लागि खुला, प्रतिवेदन पारित गर्ने तयारी

    काँग्रेसको बन्द सत्र सबैका लागि खुला, प्रतिवेदन पारित गर्ने तयारी

    काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार बन्द सत्रमा प्रस्तुत राजनीतिक, समसामयिक, सांगठनिक र आर्थिक प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ। त्यससँगै महाधिवेशनको नीतिगत छलफलको चरणसमेत टुंगिनेछ।

    बन्द सत्रमा सभापति गगनकुमार थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ।

    सातै प्रदेशका महाधिवेशन प्रतिनिधि तथा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिले प्रस्ताव तथा प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव राखेका छन्। प्रतिनिधिहरूले कांग्रेसको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार र आर्थिक व्यवस्थापनलगायत विषयमा सुझाव दिएका छन्।

    बाँकी सुझाव समेटेर प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ। बन्द सत्रको प्रक्रिया टुंगिएपछि सभापति थापाले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    यसैबीच बुधबारको बन्द सत्रलाई कांग्रेसले सबैका लागि खुला गरेको छ। महाधिवेशनस्थल खुलामञ्चमा प्रवेश पाएका व्यक्तिले बन्द सत्रसमेत अवलोकन गर्न पाउने भएका छन्।

    कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्द सत्रको पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ। अन्य सञ्चारमाध्यमलाई समेत प्रत्यक्ष प्रसारण गर्न अनुमति दिइएको उनले जानकारी दिए।

    यसअघि कांग्रेसको विशेष महाधिवेशनमा पनि बन्द सत्र खुला गरिएको थियो। सोही अभ्यासलाई १५औँ महाधिवेशनमा निरन्तरता दिइएको कांग्रेसले जनाएको छ।

    बन्द सत्रको छलफल र प्रतिवेदन पारित भएपछि महाधिवेशनको मुख्य ध्यान नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन प्रक्रियामा केन्द्रित हुनेछ।