कांग्रेसमा युवा नेतृत्वको हस्तक्षेप बढाउनुपर्छ : विद्वान गुरुङ - Chaitanya News
  • 2026-10-07
  • 12:24:49
  • बुधबार,आश्विन २१, २०८३
  • कांग्रेसमा युवा नेतृत्वको हस्तक्षेप बढाउनुपर्छ : विद्वान गुरुङ

    कांग्रेसमा युवा नेतृत्वको हस्तक्षेप बढाउनुपर्छ : विद्वान गुरुङ

    काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता विद्वान गुरुङले पार्टीलाई थप गतिशील र सशक्त बनाउन युवा पुस्ताको सहभागिता निर्णायक हुनुपर्ने बताएका छन्।

    कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका गुरुङले बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीको नेतृत्व तहमा सक्षम, योग्य र ऊर्जावान् युवालाई अघि बढाउनुपर्नेमा जोड दिए।

    उनले बदलिँदो राजनीतिक परिवेशअनुसार कांग्रेसलाई नयाँ दिशा दिन संगठनका सबै तहमा युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताए। १५औँ महाधिवेशनलाई पार्टीका लागि महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै गुरुङले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन र योग्य नेतृत्वलाई मूल प्रवाहमा ल्याउन तरुण दलले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे।

    ‘नयाँ नेपाल, नयाँ कांग्रेस र नयाँ उत्साहका साथ नेपाली कांग्रेसको ऐतिहासिक १५औँ महाधिवेशन हुँदैछ,’ उनले भने, ‘देशलाई नयाँ ढङ्गले अघि बढाउन र तरुणहरूलाई देशव्यापी रूपमा संगठित गर्दै कांग्रेसलाई अझ सशक्त बनाउन अहिलेको छलफल महत्त्वपूर्ण छ।’

    गुरुङले तरुण दलका साथीहरूबीच व्यापक छलफल गरी सक्षम र पार्टीलाई नयाँ दिशा दिन सक्ने उम्मेदवारलाई अघि बढाउनुपर्ने बताए। उनले यसपटक तरुण दलको प्रतिनिधित्व मात्र नभई क्षमता र ऊर्जाका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।

    आफूले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको जानकारी दिँदै उनले आफ्नो उम्मेदवारीलाई साथ, सहयोग र समर्थन गर्न आग्रह गरे। साथै सभापति गगनकुमार थापाको नेतृत्वमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा पनि उनले व्यक्त गरे।